शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

कुकुरको टोकाईबाट महिलाको मृत्यु भएपछि गाउँमा त्रास

कुकुरको टोकाईबाट महिलाको मृत्यु भएपछि गाउँमा त्रास

रोदिक खबर

१२, फाल्गुण २०७८
  • 3.0K
    SHARES
  • कुकुरको टोकाईबाट महिलाको मृत्यु भएपछि गाउँमा त्रास

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा कुकुरको टोकाईबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । रेबिजका कारण बृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठ्माण्डौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढि त्रसित छन् ।

    वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७/८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पु¥याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए ।

    एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरेपनि टोकेको २०/२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको २८/२९ दिनतिर घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पु¥याइएको थियो । टिचिङले टेकुमा रेफर गरे लगत्तै बिरामीको मृत्यु भएको हो ।

    कुकुरले टोक्ने वित्तिकै दिइनुपर्ने खोप नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको राई बताउँछन् । ‘कुकुरले टोक्ने वित्तिकै रोकथामका लागि छुट्टै खोप दिइनुपथ्र्यो रे । त्यही भएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामी निको नभएको अस्पतालले जवाफ दिएको छ,’ राईले भने, ‘कमसेकम जिल्ला अस्पतालले यत्ती जानकारी दिएको भए पनि बिरामीलाई बचाउन सकिन्थ्यो । आफन्त गुमाउन पर्दैनथ्यो भन्ने हाम्रो बुझाई छ ।’

    जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिकले भने बिरामीलाई ढिलागरी अस्पताल पुर्‍याएकाले एन्टी रेबिज भ्याक्सिनले काम नगरेको हुनसक्ने बताए ।

    २५ जनालाई एन्टी रेबिज भ्याक्सिन

    मृतक वृद्धाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका २५ जनालाई ११ फागुनमा एन्टी रेबिज भ्याक्सिनको पहिलो मात्रा दिइएको छ । हाललाई परिवार र नजिकका छरछिमेकलाई एन्टी रेबिज भ्याक्सिन दिइएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए ।

    बुईपा र राजापानीमा अझै पनि मृतकको सम्पर्कमा रहेका आफन्तहरु खोपबाट छुटेको हुनसक्ने स्थानीय बताउँछन् । रेबिजको आतंक फैलिएको ठाउँमा तत्काल खोप व्यवस्थापनमा स्थानीय सरकार र जिल्ला अस्पतालले बेवास्ता गरेको युवा नेता निसन राईले दावी गरे ।

    जन्तेढुंगामा कुकुरको बिगबिगी

    खोटाङको जन्तेढुंगा गाउँपालिकामा सामुदायीक कुकुरको बिगबिगी फैलिएको छ । बाँदर, स्याल धपाउनका लागि पालिएका कुकुर बजार तथा अन्यत्र छाडिँदा सामुदायीक कुकुरको बिगबिगी फैलिएको हो । केही समयअघि बेवारिसे कुकुरको टोकाईबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका कर्णबहादुर खत्रीको परिवारका ४ सदस्य घाईते भए भने एउटा भैंसी मरेको थियो ।

    यस्तै, कुकुरले गोपाल नेपालीका ४ जना, रमेश तामाङका २ जना, उत्तरबहादुर खड्काका १ जना, गोबिन्द बिष्टका १ जना, अप्जसा खड्काको १ जना, कोपिला प्रधानको एक जना, मेहरमान दमाईको एक जना सदस्यलाई टोकेका थिए ।

    यस्तै, गोपाल कट्वालको एउटा गाई, डाइश्वर कार्कीको एउटा बाख्रा, दलबहादुर तामाङको एउटा भैंसी, चन्द्र प्रधानको एउटा बाख्रा, मिनबहादुर प्रधानका एउटा गोरु, युवराज प्रधानको एउटा बाख्रालाई कुकुरले टोकेर घाईते बनाएको थियो । कुकुरको टोकाईबाट तुलसीराम कोईरालाको एउटा गाई मरेको थियो ।

    कतिपय बराहपोखरी गाउँपालिकाका स्थानीयलाई समेत सामुदायीक कुकुरले टोकेर घाईते बनाएको थियो । सामुदायीक कुकुरको बिगबिगी बढिरहँदा घाईतेलाई आफ्नै पालिकामा एन्टी रेबिज भ्याक्सिनको व्यवस्थाका लागि स्थानीय सरकार अग्रसर हुनुपर्ने युवा नेता बाजिन्द्र बिष्ट बताउँछन् ।

    प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - १८:४७:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको