खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षाका लागि राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो ।
प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको टोली रहनेगरी अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल र ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्तरूपमा बुधवार प्रहरीचौकी उद्घाटन गरेका हुन् ।
बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिले संबेदनशिल भएकाले प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रनाउ लम्सालले बताए । राखाबाङ्देलमा स्थानीयले लामो समयदेखि प्रहरीचौकी स्थापनाको माग गर्दैआएका थिए ।

प्रमुख जिल्ला अधिकारी दाहालको प्रमुख आतिथ्यमा भएको अस्थायी प्रहरीचौकी स्थापना उद्घाटन कार्यक्रममा ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष निरौला, उपाध्यक्ष पुस्पकला भुजेल, नेकपा एमाले प्रदेश नम्बर १ का प्रदेश सदस्य गृह बहादुर राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ, नेकपा माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष अगमसिं राई, ऐसेलुखर्क गाउँपालिका-१ का कार्यवाहक अध्यक्ष पुरुषाेतम राजभण्डारी, कालिका वालविकास माविका प्रधानाध्यापक रमेशकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।