खोटाङ, ७ वैशाख । प्रदेश सरकार १ नं. प्रदेश खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय विराटनगरले खोटाङको हलेसीमा ‘सौर्य फोटोभोल्टेइक वाटर पम्पिङ सिस्टम डिजाइन’ सम्बन्धी तालिम सञ्चालन गरेको छ । प्रदेश मन्त्रालयले खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बू, भोजपुर, उदयपुर र सङ्खुवासभाका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत २४ जना इन्जिनियरहरुलाई सहभागी गराएर तालिमको आयोजना गरेको हो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र जी.आई.जेड. नेपालद्वारा संयुक्तरुपमा सञ्चालित नविकरणीय उर्जा तथा दक्षता कार्यक्रम (आर.ई.ई.)को सहयोगमा सञ्चालित तीनदिने तालिम मङ्गलबार १ नं. प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री रामकुमार राई ‘पासाङ’ले औपचारिक रुपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । वैशाख–६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खानेपानी, सिंचाई तथा उर्जा मन्त्री पासाङले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी इन्जिनियहरुलाई आग्रह गरे ।
विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित लोलेसुङ रिसोर्टमा जारी तालिममा जीवन वैद्य, सर्वज्ञरत्न तुलाधर र भोला पोखरेल लगायत नवीकरणीय उर्जा सम्बन्धी विज्ञहरुले तालिमको सहजीकरण गरिरहेका छन् । तालिममा सहभागी इन्जिनियरहरुलाई सौर्य उर्जा तथा विद्युतीय प्रविधिको खानेपानी एवम् सिंचाई आयोजना सञ्चालनका लागि तयार गर्नुपर्ने प्राविधिक इष्टिमेट, सौर्य उर्जा तथा विद्युत खपत, आर्थिक लगानी लगायतका बारेमा जानकारी दिइने आयोजकले जनाएको छ ।
पहाडी जिल्लाहरुमा बसोबास गर्ने हरेक स्थानीय बासिन्दालाई खानेपानी तथा सिंचाई सुविधा उपलब्ध गराउन पम्पिङ प्रविधिको योजना सञ्चालन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको मन्त्रालयका प्रवक्ता रमेशप्रसाद पौडेलले जानकारी दिए ।
“पहाडी जिल्लाहरु बढी रहेको १ नं. प्रदेशमा तल कोशी बगिरहेको र माथिल्लो भेगमा बसोबास गर्ने स्थानीय बासिन्दालाई खानेपानी तथा सिंचाई अभाव भएको देखिएको छ”, उनले भने, “आगामी आर्थिक वर्षबाट १ नं. प्रदेशभित्र पर्ने सुख्खाग्रस्त क्षेत्रमा सहज रुपमा पम्पिङ प्रविधिबाट खानेपानी तथा सिंचाई सुविधा उपलब्ध गराउन उद्देश्यका साथ पूर्व तयारी स्वरुप इन्जिनियरहरुका लागि सौर्य फोटोभोल्टेइक वाटर पम्पिङ सिस्टम डिजाइन सम्बन्धी तालिम आयोजना गरिएको हो ।”
तालिममा सहभागी इन्जिनियरहरुलाई हलेसी क्षेत्रमा सञ्चालित बृहत पम्पिङ खानेपानी आयोजनाको स्थलगत प्रतिवेदनसमेत तयार गर्न लगाइने जनाइएको छ । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका उपभोक्तालाई दूधकोशीको पानी विद्युतीय प्रविधिमार्फत गाउँमा वितरण गर्ने उद्देश्यले शुरु गरिएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम करिब ७५ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ ।
इन्जिनियरहरुलाई तालिम दिएपछि दूधकोशी, सुनकोशी, अरुण, तमुर लगायतका नदीहरुमा १ नं. प्रदेश सरकारले पम्पिङ प्रविधिको खानेपानी तथा सिंचाई आयोजना सञ्चालन गर्ने योजना बनाएको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव नविनराज सिंहले बताए । यसका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लगायत साझेदार संस्थाहरुसँग समन्वय भइरहेको सचिव सिंहले जानकारी दिए ।
पहिलो चरणमा छ जिल्लाका इन्जिनियर तथा सव–इन्जिनियरहरुलाई सहभागी गराएर दिइएको तालिम दोस्रो चरणमा बाँकी रहेका आठ जिल्लाका इन्जिनियरलाई सहभागी गराएर दिइने प्रवक्ता पौडेलले जानकारी दिए । दोस्रो चरणमा सञ्चालन गरिने सोही किसिमको तालिम धनकुटा वा विराटनगरमा हुने जनाइएको छ ।
प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्रमा पम्पिङ प्रविधिको खानेपानी तथा सिंचाई योजना सञ्चालन गर्नका लागि पहल थालेपछि खोटाङ जिल्लाका स्थानीय बासिन्दा हर्षित भएका छन् । दश स्थानीय तह रहेको पूर्वी पहाडी जिल्ला खोटाङका अधिकांश स्थानीय तहमा खानेपानी तथा सिंचाईको समस्या रहेको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा पम्पिङ प्रविधिको खानेपानी योजना सञ्चालन भइसकेको छ भने, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा निर्माणाधीन अवस्थामा छ । पम्पिङ प्रविधिको खानेपानी योजना सञ्चालन गर्दा विद्युत महशुल बढी उठ्ने भएकाले उपभोक्तालाई समस्या हुने गरेको उपभोक्ता समितिले जनाएको छ ।