खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा पुनः शालिकराम बञ्जारा दोहोरिएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित बञ्जारा गत बैशाख ३० मा भएको निर्वाचनबाट ५ वर्षका लागि पुनः दोहोरिएका हुन्।
गठबन्धन(नेपाली कांग्रेस) बाट विजयी भएका बञ्जाराले निकटतम प्रतिद्धन्द्धी एमालेका गोमा मगरलाई ४८७ मतान्तरले हराएका हुन्। बञ्जाराले ३१८१ मत पाउँदा मगरले २६९४ मत पाएकी थिइन्। मगर २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
उनलाई यो पटक पार्टीले एमालेमा उठाएका थिए। यस्तै, गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै तर्फबाट एकीकृत समाजवादी पार्टीका उम्मेदवार भुवलराज राई विजयी भएका छन्। भुवलराजले २३३० मत प्राप्त गर्दा एमालेका जीवन राईले २२९५ मत प्राप्त गरेका थिए।
यसैगरी, वडातर्फ बराहपोखरी १ बराहपोखरीमा कांग्रेसबाट ढकबहादुर कार्की, बराहपोखरी २ सुन्तलेमा माओवादीबाट पदम मगर, बराहपोखरी ३ साउनेचौरमा एमालेबाट ताराकान्त राई, बराहपोखरी ४ फाक्टाङमा कांग्रेसबाट सन्तोष आचार्य, बराहपोखरी ५ पौवासेरामा एमालेबाट फौदराज राई र बराहपोखरी ६ मौवाबोटेमा माओवादीबाट दुर्गाबहादुर राई विजयी भएका छन्।