पर्यटक र तीर्थयात्रीको गणनाका लागि हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन  

पर्यटक र तीर्थयात्रीको गणनाका लागि हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन  

रोदिक खबर

११, आषाढ २०७९
  • 3.2K
    SHARES
  • पर्यटक र तीर्थयात्रीको गणनाका लागि हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन  

    खोटाङ, ११ असार । खोटाङको त्रिधार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि पिपुल काउन्टिङ मेसिन जडान गरिएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसी मन्दिरमा दर्शन एबं भ्रमणका लागि प्रवेश गर्ने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि माछापुच्छ्रे बैंकले गणना मेसिन जडान गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत राखिएको पिपुल काउन्टिङ मेसिन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले उद्घाटन गरेकी छन् । 

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा हालसम्म दर्शन एबं भ्रमण गर्ने पर्यटक तथा दर्शनार्थीको तथ्यांक राख्ने व्यवस्था नभएको अवस्थामा पिपुल काउन्टिङ मेसिन राखिएको हो । मन्दिरको प्रवेश द्धारमा गणनाका लागि पिपुल काउण्टिङ क्यामेरा जडित ढोका बनाइएको छ ।

    मन्दिर प्रवेश गर्ने पर्यटक र दर्शनार्थीलाई सोही ढोकाबाट प्रवेश गर्ने/गराउने व्यवस्था मिलाइने छ । पिपुल काउण्टिङ क्यामेराले मन्दिर प्रवेश गर्ने र बाहिरिने पर्यटक तथा दर्शनार्थीको संख्या कम्प्यूटरमा रेकर्ड गर्ने माछापुच्छ्रे बैंक हलेसी शाखाका प्रवन्धक नयन थापाले बताए । पिपुल काउन्टिङ मेसिनको ढोकाबाट प्रवेश नगर्नेको संख्या भने रेकर्ड हुने छैन ।

    “हालसम्म हलेसी आउने तीर्थयात्री र पर्यटकको संख्या अनुमानका आधारमा उल्लेख गरिन्थ्यो । अव कति पर्यटक भित्रिए भन्ने आँकडा नै आउँछ,” थापाले भने, “त्यसका लागि मन्दिर प्रवेश गर्ने पर्यटक र तीर्थयात्रीलाई पिपुल काउन्टिङ मेसिन राखिएको ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।” कार्यक्रममा उपप्रमुख रमेश राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतको उपस्थिति रहेको थियो । 

    मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा स्वदेसी बाहेक चिन, सिंगापुर, जापान, रुस, फ्रान्स, यूक्रेन, अमेरिका लगायतबाट पर्यटक आउने गरेका छन् । त्यसमा पनि बढिजसो धार्मिक पर्यटक छन् । हलेसी आएका हिन्दु धर्मावलम्बी बढिमा दुई दिन बस्ने गर्छन् भने वौद्धमार्गी चार÷पाँच दिनको प्याकेजमा आएर बस्ने गरेका छन् ।

    चीन, तिब्बत, भारत, भुटान, फ्रान्स लगायतका कतिपय पर्यटक भने सिधै हेलीकोप्टरमार्फत हलेसी आउने जाने गरेका छन् । काठ्माण्डौं लगायत पश्चिम नेपालका दर्शनार्थी मध्यपहाडी लोकमार्ग अन्तरगत खुर्कोट–घुर्मी हुँदै हलेसीमा आउने गरेका छन् भने पूर्वी नेपालका दर्शनार्थी कटारी–घुर्मी हुँदै हलेसी आउने गरेका छन् । नेपालमा आएकामध्ये करिब ५ प्रतिशत पर्यटक हलेसी आउने गरेको होटल व्यवसायी संघको दावी छ । 

    प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - १६:५०:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको