काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताएका छन् । आज रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उनले मुलुक सङ्घीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।
उनले भने, “राससमा देशका सक्षम, योग्य र सम्बन्धित विषयका जानकार जनशक्ति हुनुहुन्छ, यस्तो अवस्थामा आगामी दिनमा सकारात्मक परिणाम आउने गरी काम गर्न सकिने विश्वास छ ।” अध्यक्ष झाले आफू राससमा ठूलो दायित्व बोध गरेर आएको उल्लेख गर्दै प्रभावकारीरूपमा काम गर्न समूहगत सहकार्यको खाँचो औँल्याए। राससकर्मीले कुनै पनि काम गर्दा सदैव यो संस्था जनताको करबाट सञ्चालन भएको हो भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा महाप्रबन्धक सिद्धराज राईले अध्यक्ष झालाई स्वागत गर्दै पत्रकारिता क्षेत्रका अनुभवी र वरिष्ठ व्यक्तिलाई राससले नेतृत्वका रूपमा पाएकामा खुसी व्यक्त गरे । साथै उनले कार्यकालभर राम्रो सहकार्य हुने विश्वास व्यक्त गरे। प्रशासन प्रमुख शीतलप्रसाद महतोले पत्रकारिताका गुरुका रूपमा स्थापित वरिष्ठ पत्रकारलाई राससले अध्यक्षका रूपमा पाउनु खुसीको कुरा भएको बताउँदै आगामी दिनमा राससले थप राम्रो काम गर्दै जाने बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष रहेका झालाई यही असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । क्याम्पस पढ्ने क्रममा विसं २०४३ मा भित्ते पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनसँग त्यसयता अन्नपूर्ण पोष्ट दैनिक, हिमालय टाइम्स दैनिक, हिमालय टिभीलगायत मूलधार र मोफसलका दर्जनौँ मिडियामा उच्च तहमा रहेर काम गरेको अनुभव छ । नवनियुक्त अध्यक्ष झाले नेपाली मूलधारको पत्रकारितामा लामो अनुभव सँगाल्नुका साथै उनी नेपाली पत्रकारितामा अनुभवी प्रशिक्षक र सूचना हकको राष्ट्रिय अभियन्तासमेत हुन् ।
धनुषा स्थायी घर भएका उहाँले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर शिक्षा हासिल गरेका छन् । वरिष्ठ पत्रकार झा अध्यक्षमा नियुक्ति अघि कोशी अनलाइन डट कममा प्रधान सम्पादक र नयाँ पत्रिका दैनिकमा स्तम्भ लेखकका रूपमा कार्यरत थिए । दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम हासिल गरेका उनले विभिन्न संस्थामा सल्लाहकारका रूपमा अनुभव हासिल गरेका छन् ।
नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षकसमेत रहिसकेका अध्यक्ष झाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा सदस्य र विज्ञका रूपमा काम गरेका छन् । साथै उनले सञ्चारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि संयुक्त राज्य अमेरिका, भारत, चीन, स्पेन, डेनमार्क, नर्वे, फिनल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न देशको भ्रमण गरेका छन् । उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन् । रासस