वर्षासँगै चलेको हावाहुरीले मकैबालीमा क्षती

वर्षासँगै चलेको हावाहुरीले मकैबालीमा क्षती

रोदिक खबर

१८, आषाढ २०७९
  • 3.4K
    SHARES
  • वर्षासँगै चलेको हावाहुरीले मकैबालीमा क्षती

    खोटाङ, १८ असार । वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घोगा लाग्दै गरेको मकैबालीमा क्षती पु¥याएको छ । शुक्रबार राती वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दैगरेको अवस्थाको मकै वाली सोत्तर पारेको हो ।

    तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ । हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षती पु¥याएको नगरका प्रवक्ता कमल गिरीले बताए । 

    जिल्लाभर मुख्य वालीका रुपमा मकै खेती लगाउने गरिएको छ । तर हावाहुरीले उत्पादन दिनै नसक्नेगरी मकैको बोट ढलेको छ । घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् । मकैमा क्षती पुग्दा किसान निरास बनेको दुर्छिमका स्थानीय तामन राई बताउँछन् ।

    हावाहुरीले फलफुल, रुख तथा बाँसका झाङ समेत लडाएको छ । नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतीको औपचारिक जानकारी नआएको बताए । सामाजिक सञ्जालमार्फत मात्र मकैमा क्षती भएको जानकारी भएको पाण्डेले जनाए । 

    दुर्छिमको चुमाखु, रातमाटे लगायतका ठाउँमा लगाइएको मकै वाली हावाहुरीले ढालेर जमिनमा मिलाएको छ । हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबु लगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताए ।

    “घोगा लागिसकेको मकैको बोट भाँचिएर हेर्नै नसकिने अवस्था भएको छ । घोगा लागिसकेको मकै न उठाउन मिल्छ, न उठाउँदा दाना लाग्छ,” पुरीले भने, “सबैतिरबाट क्षतीको जानकारी आइरहेको छ ।

    विवरण संकलन भइरहेको छ ।” हावाहुरीले मकैमा पु¥याएको क्षतीको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए । 

    प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - २२:३६:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको