जिल्ला आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता विषयमा छलफल गरेको छ । निर्वाचन आयोगले पठाएको निर्वाचन आचारसंहिता माथि आचारसंहिता अनुगमन समितिको बैठकमा मंगलवार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख, संचारकर्मी, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवालासंग छलफल गर्दै समितिले निर्वाचन आचारसंहिता पूर्ण कार्यान्वयनका लागि आग्रह गरेको हो ।
छलफलमा सहभागीले दलहरुले आचारसंहितामा देखिएका अस्पष्ट बुँदाहरूलाई प्रस्ट पार्न आग्रह गर्दै विगतका अनुभव अनुसार थप सुझाव दिएका थिए । दलहरुले आयोगले पठाएको निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव कुमार आचार्य, नेपाली कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्रका संयोजक दिपक पाण्डे, जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बु, नेकपा एकीकृत समाजवादीका सचिव राजन आचार्यले आचारसंहितामा अस्पष्ट भएका विषयवस्तु प्रस्ट पार्दा आगामी दिनमा सहज हुने बताएका थिए । विगतका निर्वाचनमा देखिएका समस्या यसपटक आउन नदिन सबै पक्ष सजग रहन पनि उनीहरूले आग्रह गरे ।
कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङका कोष नियन्त्रक मानबहादुर मगरले सरोकारवाला निकायलाई जारी आचारसंहिताका विषयमा जानकारी गराएका थिए भने प्रमुख जिल्ला अधिकारी सुर्यपसाद सेडाइले राजनीतिक दलहरूले उठाएका सवाल र आचारसंहितामा अस्पष्ट भएका विषयवस्तुलाई प्रस्ट पार्दै सबैले आफ्नो क्षेत्रबाट सहयोग आग्रह गरे । उनले सुरक्षा निकाय र प्रशासनबाट कोही कसैलाई काखा र पाखा नगरिने बताए ।
निर्वाचन आचार संहिताबारे जानकारी गराउन र छलफलमा उठेका कुरालाई मस्यौदामा समेट्नको लागि छलफल कार्यक्रम राखिएको जिल्ला न्यायधीश तथा मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत पुरीले राजनीतिक दल, कर्मचारी, शिक्षकलगायत सबै क्षेत्रको निगरानी गर्ने पत्रकार स्वयं आचारसंहिताबाट बाहिर जान नमिल्ने बताए ।
खोटाङमा १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र गरी १९६ मतदान केन्द्र रहेका छन् ।