युवालाई आफ्नै गाउँठाउँमा रोजगारीको अवसर दिन्छौँ : बाम–लोकतान्त्रिक गठबन्धन

युवालाई आफ्नै गाउँठाउँमा रोजगारीको अवसर दिन्छौँ : बाम–लोकतान्त्रिक गठबन्धन

रोदिक खबर

२६, कार्तिक २०७९
  • 2.5K
    SHARES
  • युवालाई आफ्नै गाउँठाउँमा रोजगारीको अवसर दिन्छौँ :  बाम–लोकतान्त्रिक गठबन्धन

    बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले युवालाई आफ्नै गाउँठाउँमा रोजगारीको अवसर दिने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का साझा उम्मेदवारहरुले युवालाई विभिन्न विद्यामा तालिम दिएर आफ्नै गाउँठाउँमा रोजगारको अवसर दिलाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    विदेशमा रोजगार गरिरहेका युवाका परिवारलाई आवश्यक वित्तीय परामर्श प्रदान गर्ने, विदेशबाट फर्केका युवालाई आवश्यक तालिम, परामर्श तथा रोजगारको अवसर प्रदान गर्ने, माछापालन, बाख्रापालान, मौरी पालन, सु्ँगुर पालन आदिमा प्रोत्साहित गरी उनीहरूलाई स्वरोजगार बनाउने प्रतिवद्धतापत्रमा उल्लेख छ । बेरोजगार रहेका युवालाई आयआर्जन गरी आर्थिक रुपले सबल बनाउन युवा लगानी कोष खडा गरी उनीहरूलाई व्यवसायमा लगानी गर्न आर्थिक अनुदान वा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, जिल्लामा कम्तिमा एउटा औद्योगिक ग्राम सञ्चालन गरी युवालाई रोजगार बनाउने लगायतका बुँदाहरु प्रतिवद्धतापत्रमा समेटिएका छन् । 

    बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (क)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहेका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका तीनैजना उम्मेदवारहरु यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावीसभामा व्यस्त छन् । 

    एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा बाम(लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रिएका छन् । 

    प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ÷आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - ०९:११:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको