अनुप स्मृति गोल्डकप : च्याम्पियन बन्यो नेर्पा

अनुप स्मृति गोल्डकप : च्याम्पियन बन्यो नेर्पा

रोदिक खबर

२३, पौष २०७९
  • 2.9K
    SHARES
  • अनुप स्मृति गोल्डकप : च्याम्पियन बन्यो नेर्पा

    अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको उपाधि साविक बिजेता नेर्पा स्पोर्टस क्लबले उचालेको छ । शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) लाई २–० गोल अन्तरले हराउँदै नेर्पाले उपाधि उचालेको हो ।

    सुरुवातबाटै डिएफसीलाई दबाबमा राखेको नेर्पाले दोश्रो हाफमा दुई गोल गरे । नेर्पाका बिजु भुजेल र बिकी राईले आर्कषक गोल गरे । खेलमा नेर्पाका टिम क्याप्टेन एकराज बुढाथोकी, सुदिप श्रेष्ठ र डिएफसीका मनिष लिम्बुले पहेंलो कार्ड पाए ।

    प्रतियोगितामा च्याम्पियन बनेको नेर्पाले नगद दुई लाख ५१ हजार तथा उपविजेता डिएफसीले एक लाख २५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता उपविजेतालाई एन्फाका महासचिव किरण राईले पुरस्कार वितरण गरेका थिए । नेर्पाले दोश्रो संस्करणको उपाधि पनि जितेको थियो ।

    अधिकांश विधागत पुरस्कार आयोजकलाई

    माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए) को सह–आयोजनामा आइतबारदेखि भएको गोल्ड कपको अधिकांश विधागत पुरस्कार आयोजकले पाएको छ ।

    वेष्ट डिफेन्सको पुरस्कार डिएफसीका टेकेन राना मगर, उत्कृष्ट गोलरक्षक डिएफसीका सन्दिप लिम्बु, उत्कृष्ट मिडफिल्डर डिएफसीका बिशाल तामाङ, योङगेष्ट टुर्नामेन्ट डिएफसीका भुषण ताम्राकारले पाउँदा फेयर प्ले टिम पनि डिएफसी नै भए । उनीहरुले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । प्लेयर अफ द टुर्नामेन्ट डिएफसीकै मनिष लिम्बुले पाए । लिम्बुले सात हजार ५५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र पाए ।

    नेर्पाका विजु भुजेल उत्कृष्ट स्ट्राइकर, नेर्पाका बिकी राई सर्वाधिक गोलकर्ता र नेर्पाका बिरेन गुरुङले उत्कृष्ट टिम प्रशिक्षकको पुरस्कार पाए । उनीहरुले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपारे । फाइनल खेल रेफ्री लक्ष्मण जैसवालले खेलाएका थिए । प्रतियोगितामा चियाबारी फुटबल क्लबइलाम र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगा सेमिफाइनलिष्ट भए । उनीहरुले २५/२५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

    माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुलमाकक्षा नर्सरीमा अध्ययनरत अनुप राईको २०६८ जेष्ठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोक नजिक सवारी दुर्घट्नामा ज्यान गएपछि उनको सम्झनामा प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गरिदै आएको छ । विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीको प्रचारप्रसारबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिदै आएको छ । २०७३ चैत २३ गतेदेखि २७ गतेसम्म पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण सञ्चालन भएको थियो ।
    प्रथम संस्करणमा एक लाख ११ हजार १११, दोश्रो संस्करणमा एक लाख ५१ हजार १११ पुरस्कार राशी राखिएको थियो । संस्करणसँगै पुरस्कार राशी बढाउँदै जाँदा यसपटक दुई लाख ५१ हजार राखिएको थियो । दुई संस्करण गोल्ड कपमा सम्पन्न गरेर तेश्रो संस्करणलाई आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।

    प्रकाशित मिति :पौष २३, २०७९ शनिवार - २१:५७:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको