वचत रकम फिर्ताको माग गर्दै विरोध प्रदर्शन 

वचत रकम फिर्ताको माग गर्दै विरोध प्रदर्शन 

रोदिक खबर

१०, माघ २०७९
  • 3.4K
    SHARES
  • वचत रकम फिर्ताको माग गर्दै विरोध प्रदर्शन 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत रकम फिर्ताको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बचत अपचलनका कारण संकटमा फसेको सहकारीका बचतकर्ताले डुबेको लगानी फिर्ताको माग गर्दै आइतबार दिक्तेलबजारमा बिरोध र्‍याली निकालेका गरेका हुन् ।

    सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले वचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै गत भदौ २९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको न्यायीक समिति समक्ष बचत फिर्ताको लागि पहल गर्न आग्रह गरेका बचतकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

    डुबेको सावाँ र व्याज फिर्ता गर्नका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । बिरोध र्‍यालीका क्रममा सहकारी पीडित बचतकर्ताले केहीबेर लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको कार्यालय घेराउ गरेका थिए ।

    दिक्तेलबजारमा र्‍यालीपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिका पुगेर न्याय माग गरेका छन् । खाईनखाई दैनिक, मासिक र त्रैमासिक रुपमा जम्मा गरेको रकम फिर्ता लिन पटक–पटक ताकेता गर्दा पनि आलटाल भएकाले विरोध प्रदर्शनमा उत्रनु परेको वचतकर्ता लेखनाथ आचार्यले बताए । 

    वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ १० मंसिर २०७२ देखि कारोबार सुरु गरेको सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजना लगानीकर्ताले ४५ लाखसम्म बचत गरेका छन् । तर सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।

    जोशीको कोभिड–१९ को संक्रमणका कारण १५ बैशाख २०७८ मा पोखरामा निधन भएको थियो । जोशीको निधनपछि १६ बैसाख २०७८ देखि सहकारीको आर्थिक कारोबार ठप्प छ । 

    सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । सहकारीको जग्गा बाहेक सावा व्याजसहित करिब १० करोड ऋण लगानी छ । बचतकर्तालाई सावाव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको छ ।

    कतिपय ऋणीले पटक–पटक भाका राख्ने, अध्यक्ष जोशीलाई दिइसकेको भन्दै पन्छिने र कतिपयले ‘अदालत जान’ भनेर घुक्र्याउने गरेका छन् । वचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रकृया अघि बढाएको जनाएको छ ।

    प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १२:०४:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको