खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप प्रदान गरेका छन् ।
मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका नगरप्रमुख भट्टराईले नगरप्रमुख ओखावा हिदेकोलाई किरात समुदायको संस्कार संस्कृतिसँग सम्वन्धित वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डा अंकित लगायतका उपहार प्रदान गरेका हुन् । नगरप्रमुख भट्टराई र ओखावा हिदेकोबीच बिहीबार भेटघाट भएको हो ।
खोटाङका शैक्षिक अभियान्ता सुर्य राईले सामाजिक सञ्जालमा नगरप्रमुख भट्टराईले आफ्नो नगर र आफ्नो देशको मौलिक, साँस्कृतिक पहिचानजन्य सामग्री जापान याउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् । तोचिगी नगरका प्रमुख ओखावा हिदेकोले स्थानीय प्रचलन अनुसार उच्च सम्मानका साथ प्रदान गरिने अंगुरबाट बनेको प्लेट र स्थानीय हस्तलिपिबाट बनेको पंखा उपहार स्वरुप नगरप्रमुख भट्टराईलाई प्रदान गरेकी छन् ।
नगरप्रमुख भट्टराईले तोचिगी नगरका नगरप्रमुख सामु नेपाल र जापानको घनिष्ठ र मित्रवत सम्वन्ध अमर बनाउन तोचिगी आएको बताएका थिए । भेटघाटका क्रममा नगरप्रमुख भट्टराईले नगरप्रमुख ओखावा हिदेकोलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।
जापानको सडक, शिक्षा, कृषि, फोहोर व्यवस्थापन र सरसफाई, अतिथि सत्कारको संस्कृति, कामप्रतिको लगाव र कर्तव्यबोध गर्ने जापानी नागरिकको विषयमा जति बढेको र सुनेको थिएँ । नगरप्रमुख भट्टराईले भने, यहाँ आएर प्रत्यक्ष हेरेपछि मैले पढेको र सुनेको भन्दा अझ धेरै गुणा पाएँ । गत मंसिर ९ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार भट्टराई पुस २९ गते भ्रमणका लागि जापान गएका हुन् ।
भेटघाटका क्रममा तोचिगी नगरका प्रमुख ओखावा हिदेको, नगरपालिका अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख आओकी हिरोसी, निर्देशक आकीहिरो ओवातमका, नीति निर्माण विभाग प्रमुख केवुकावा वातारु, शाखा प्रमुख ओसिताका ओसियामा तथा शिक्षा शाखाका उपप्रमुख केइची यामागुचीको सहभागीता रहेको थियो ।
नगरप्रमुख भट्टराईको स्वागतमा तोचिगी नगरको गेटदेखिभित्र नेपाल र जापानको राष्ट्रिय झण्डा लहरै राखिएको थियो । भट्टराई गेटबाट प्रवेश गरे लगत्तै दायाँबायाँ बसेका कर्मचारीले नेपाल र जापानको राष्ट्रिय झण्डा हल्लाउँदै स्वागत गरेका थिए । तोचिगी नगरले नगरप्रमुख भट्टराईलाई दिइएको सम्मानले गौरवान्वित बनाएको एनआरएनए तोचिगी अध्यक्ष मन्दीप क्षेत्रीले बताएका छन् ।
तोचिगीमा १५ वर्षदेखि बसेर एसएमएस कर्पोरेसन कम्पनी सञ्चालन गर्दैआएका महेश लुईटेलले मेयर भट्टराईलाई दिइएको सम्मान यसअघि तोचिगीको सरकारी स्तरमा कहिल्यै नभएको प्रतिक्रिया दिएका छन् ।
दुई नगरका प्रमुखबीचको भेटले दीर्घकालीन सम्वन्ध स्थापित गर्न कोसेढुंगा सावित हुने र भगिनी सम्वन्ध स्थापित हुने संकेतका मिलेको शेर्पा ट्रेडलिंक कम्पनी जापानका अध्यक्ष निमा शेर्पाले बताए ।