कृष्णकला राई
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सञ्चालित पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्रोदय मावि ओख्रे डाँडागाउँले पाएको छ। चार दिनअघि सुरुभएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्रोदय माबिले जितेको हो ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ डाँडागाउँमा सोमवार सम्पन्न भएको प्रतियोगितामा सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण र ४ कास्य पदक सहित महेन्द्रोदयले उपाधि पाएको हो।
शान्ति मावि छोरम्बुले ३ स्वर्ण, २ रजत र २ कास्य पदक सहित दोश्रो र कृष्ण मा.वि टेम्माले २ स्वर्ण ४ रजत सहित तेस्रो स्थान हात पार्न सफल भएको हो । प्रतियोगिताका विजेताहरुलाई गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले शिल्ड, मेडल र माणपत्र प्रदान गरेका हुन्।
यस्तै, प्रतियोगितामा छात्र/छात्रातर्फ भलिबल, कबड्डी, हाइजम्प, लङजम्प, सटफुट २०० मिटर दौड, १०×४ रिले दौड, ४०० मिटर दौड गरि आठ विधा समावेश गरिएको गाउँपालिकाले जनाएको छ । । प्रतियोगिताका लागि गाउँपालिकाका १४ वटा विद्यालय सहभागी भएका थिए ।
“दिप्रुङ चुईचुम्माको चाहना, खेलकुद विकासको भावना ” भन्ने मूल नाराका साथ स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले जानकारी दिए ।