खोटाङ । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ ले राष्ट्रिय सहमतीको आधारमा राष्ट्रपति चयन हुने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले बिहीबार दिक्तेलको श्रेष्ठ होटलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईले ‘गणतन्त्र, संघीयता, समावेशी, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु नचाहने देशी–विदेशी शक्तिहरुले मुलुकमा अस्थिरता निम्त्याउँन खोजिरहेकाले यसलाई परास्त गर्न पनि राष्ट्रिय सहमतीको राष्ट्रपति आवश्यक बताएका हुन् ।’
राजनीतिमा भएको पछिल्लो समिकरण राष्ट्रपतिको चुनावमा टुट्दैन, गठबन्धनको एउटा आधार तयार भइसकेको छ राईले भने–‘पछिल्लो समय विभिन्न तरिकाले गणतन्त्र, संघीयता, समावेशी, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरुमाथि धावा बोल्न थालिएको छ, यसको रक्षाका लागि पनि राष्ट्रिय सहमतीको राष्ट्रपति आवश्यक छ ।’
राप्रपालाई संकेत गर्दै सत्ता गठबन्धनमा सामेल भएर राजा ल्याउछु, नेपाललाई हिन्दु राष्ट्र कायम गर्छु भन्नेहरु संविधान विपरित रहेको उनले बताए । सत्तामा बसेपछि संविधान अनुसार चल्नुपर्ने भन्दै राजतन्त्र ल्याउने भए सरकार बाहिर गएर जनताको मन जितेर आउन राईको चेतावनी दिए ।
राईले खोटाङको विकासका लागि सबै राजनीतिक दल एक भएर जानुको विकल्प नरहेको बताए । ‘चुनावमा हाम्रो बैचारिक विविधता हुनुसक्छ, तर जिल्लाको विकासका लागि एक ठिक्का भएर हामी अघि बढ्नुछ । त्यसैले सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि सकारात्मक ढंगले अघि बढ्नु प¥यो । मैले यहि आशा राखेको छु ।’ राईले भने ।
जिल्लामा सुरु भएर सम्पन्न नभएका विकास निमार्णका कामहरु चाडै सम्पन्न गर्न पहल गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै धेरै योजनाहरु अलपत्र छन्, कतिपय योजना टेण्डरको प्रक्रियामा छन् त्यस्ता योजना समयमै सम्पन्न गर्ने गरी लाग्ने उनले बताए ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य उजुर राईको सभापतित्वमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दिपक पाण्डे, माओवादीका नेता विनोद आचार्य, अर्जुन खड्का, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डम्बरसिं राई लगायतको उपस्थिति रहेको थियो ।