खोटाङ । जिल्लाकै सर्वाधिक राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ बैशाखमा हुने भएको छ। जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा आउँदो वैशाख २ गतेदेखि ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्ड कपको आयोजना हुने भएको हो।
जन्तेढुंगा गाउँपालिकाका वडा नम्बर–५ को खर्क खेलमैदानमा आयोजना हुने गोल्डकप प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय र उपबिजेताले १ लाख ५५ हजार ५ सयका साथमा कप, मेडल र प्रमाणपत्र पाउने छन् भने गोल्डकपमा सेमिफाइनलिष्ट दुई टोलीले नगद ५०/५० हजारका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागत रुपमा बेष्ट स्टाइकर, गोल्डकिपर र डिफेण्डरलाई १०/१० हजार र म्यान अफ द म्याचलाई ५ हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।
खेल क्षेत्रको प्रर्वद्धन र विकासका साथै खेलाडीहरुको क्षमतामा टेवा पुर्याउने उद्वेश्यले गोल्डकपको आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। गोल्डकपमा अनुमानित ३० लाख भन्दा माथिको लागत रहने बताइएको छ। खेलाडीहरुका लागि खाना, बास लगायतको व्यवस्थापन तथा १५ दिनभित्र टिम दर्ताको प्रक्रिया सुरु गरिने बताइएको छ।
फुटबलमा व्यावसायिक खेलाडी उत्पादन तथा व्यवसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले बताए। उनले भने, ‘खेलाडीसँग गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि पनि गोल्डकपको आयोजना गरिएको हो।’
फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समिति एन्फामा दर्ता गर्ने प्रक्रिया पनि अगाडि बढाइने राईको भनाई छ ।
खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने समितिका सचिव अमित राईले बताए।
गोल्डकपलाई सफल बनाउन खेल क्षेत्र, निकाय, तथा आम खेलप्रेमी जनसमुदायलाई अपिल गरिने आयोजकको भनाई छ।
देश तथा विदेशमा रहेका खेलप्रेमी महानुभावहरुबाट गोल्डकप सफल बनाउन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्का लगायतको सहभागिता रहेको थियो।