खोटाङको साकेला गाउँपालिकामा पालिक स्तरीय पाँचौ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । साकेला गाउँपालिका–४ स्थित नौलाखर्क खेलमैदानमा आइतवारबाट ५४ स्वर्ण पदकका लागि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य रामकुमार राईले गरेका हुन् ।
प्रतियोगितामा भलिवलतर्फ छात्रछात्रा, हाईजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौडको खेल हुने जनाईएको छ ।
प्रतियोगितामा १८ वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने बताईएको छ । प्रतियोगिताका विजेताले मेडल, प्रमाणपत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्तगर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने बताईएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन संघीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रममार्फत एक लाख उपलब्ध गराएको छ । भौगोलिक विकटता तथा महङ्गीका कारण एक लाखले प्रतियोगिता गराउन सम्भव नभएपछि गाउँपालिकाले अपुग रकम उपलब्ध गराएको छ । गाउँपालिकाबाट विनियोजित बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन/जान तथा अन्य व्यवस्थापन खर्च उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए ।
दूरीको आधारमा २५हजारदेखि ३० हजारसम्म प्रति विद्यालयलाई खाजा खर्च बापत रकम उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिता मंगलबार सक्ने लक्ष्य राखिएको आयोजक विद्यालयका प्रअ युवराज कटवालले बताए । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछन् ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईको अध्यक्षतामा उद्घाटन भएको रनिङ शिल्ड प्रतियोगितामा प्रतिनिधिसभा सदस्य पासाङ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपाध्यक्ष बिर्सिका राई, निवर्तमान गाउँपालिका अध्यक्ष, उपप्रमुख, सबै वडाका वडाध्यक्ष, राजनीतिक दल, शिक्षक तथा प्रतिनिधि, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।