खोटाङ उद्योग वाणिज्य संघले सचिवालय भवन उद्घाटन गरेको छ । घर भाडा लिएर कार्यालयको कामकाज गर्दै आएको संघले जिल्ला अदालतमूनि करीव दुई रोपनी जग्गामामा निर्माण गरिएको एकतले सचिवालय भवनको २५ औं साधारणसभा तथा ११ औ अधिवेशनकोको अवसर पारेर शनिबार प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेका हुन् । संघ स्थापना भएको करीव ४० वर्षपछि ५६ लाख २३ हजार ३ सयको लागतमा भवन निर्माण गरिएको हो ।

भवन निर्माणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २८ लाख, संघका साधारण सदस्यबाट संकलन गरिएको १६ लाख ८१ हजार ८३३ र खोटाङ उद्योग वाणिज्य संघको ११ लाख ४१ हजार ४६७ रुपैयाँ खर्च भएको संघका बरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशीले जानकारी दिए ।
एकतले भवनमा एकवटा सभाहल, कार्यालयगत कामकाजका लागि तीनवटा कोठा र दुई/दुई वटा शौचलाय र बाथरुम रहेको छ । साँढे ३ करोड लागतमा निर्माण गरिने साँढे तीन तले भवनको पहिलो तलाको काम केही समय अघि नै फिनिसिङ गरेर कार्यालयको कामकाज गरिरहेको भएपनि औपचारिक रुपमा उद्घाटन भने संघको २५ औं साधारणसभा तथा ११ औ अधिवेशनको अवसर पारेर उद्घाटन गरिएको संघका अध्यक्ष उपिन कुमार राईले बताए ।
अध्यक्ष राईका अनुसार भवनको अन्य तला क्रमागत रुपमा बनाईनेछ । उद्योगी, व्यवसायीहरुको हकहित लागि आवाज उठाउँदै आएको संघ ६ हजार खोटाङगे व्यवसायीहरुको छाता संस्था हो ।
यस्तै, कार्यक्रममा संघले आफ्नो स्मारिका पनि लोकार्पण गरेको छ । स्मारिका प्रकाशनमा लेखरचना उपलब्ध गराए वापत पत्रकार दमन राईलाई ५ हजार तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्दै आएका चिमाल फलफुल प्रशोधन उधोगका सञ्चालक शुभचन्द्र राई र विभिन्न जातजातिको रितीरिवाजमा प्रयोग हुने घरेलु सामाग्रीहरु विक्रीवितरण गर्दै आएका व्यवसायी किसन कुमार राईलाई ५/५ हजार नगदका साथमा सम्मान पत्रले सम्मान गरिएको छ ।

यस्तै, खोटाङ इन्सेक जिल्ला प्रतिनिधि तारानाथ फुयललाई पनि सम्मान गरेको छ । खोटाङ जिल्लामा मानव अधिकार संरक्षण र प्रवद्र्धन तथा खाध्य अधिकारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कामको उच्च मूल्यांकन गर्दै समान पत्रले सम्मान गरेको छ । भवन निर्माणमा आर्थिक सहयोग गर्नुहुने ४५६ जनामध्ये उपलब्धहरुलाई सम्मान पत्रले सम्मान गरिएको संघका महासचिव मनोज कुमार वजिमयले जानकारी दिए ।
जिल्लामा १५ अरव भन्दा बढीको वस्तु तथा सेवा आयतामा खर्च हुने र अलैची, जडीवुटी तथा खसी, बोका, भेनियर, काठ लगायत सिमित वस्तुहरुमा मात्र २५ करोडको हाराहारीमा जिल्ला वाहिर निकासी हुने आंकडा रहेको संघका अध्यक्ष राईले बताए ।
उल्लेखित परिदृष्यहरुलाई मध्यनजर गर्दै स्थानीय, प्रदेश, संघीय सरकारले दिगो आर्थिक विकास र समृद्ध खोटाङ निर्माणका लागि वस्तुपरक, तथ्यपरक, अल्पकालिन र दीर्घकालिन रणनीतिक विकास योजनाहरु निर्माणमा ध्यान पु¥याउन जरुरी रहेको अध्यक्ष राईको भनाई छ ।
