आर्थिक रुपमा समृद्ध हुन व्यवसायिक बन्नुपर्छ : अध्यक्ष राई

आर्थिक रुपमा समृद्ध हुन व्यवसायिक बन्नुपर्छ : अध्यक्ष राई

रोदिक खबर

१७, फाल्गुण २०७९
  • 4.0K
    SHARES
  • आर्थिक रुपमा समृद्ध हुन व्यवसायिक बन्नुपर्छ : अध्यक्ष राई

    साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले संविधानद्वारा प्राप्त अधिकारलाई उपयोग गरेर काम गर्नसके स्थानीय सरकार समृद्ध हुन समय नलाग्ने बताएका छन् । नागरिकहरुलाई आवश्यक परेको समस्या पूर्ति गर्ने जिम्मेवारी सरकारको भएको बताउँदै जनताको भावना विपरितको कार्य तीनै तहको सरकारले गर्न नहुने बताए । 

    बुधबार गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम–मेड्पा अन्तर्गत साकेला गाउँपालिकाको आयोजनामा वडा नं.–५ मात्तिमस्थित कात्तिकेमा भएको तीन दिने कफी खेती तालिम समापनको अवसरमा सहभागीहरुलाई सम्बोधन गर्दै अध्यक्ष राईले सो कुरा बताएका हुन् ।

    गाउँपालिका अध्यक्ष राईले भने–संघीय संरचनाको मर्म र भावना अनुरुप यसअघि स्थानीय तहहरुले काम गर्न सकेनन्, शब्दमा मात्र स्थानीय तहहरु परिवर्तन भए अब व्यवहारिक विकासको खाँचो छ । आगामी पाँच वर्षभित्र यस गाउँपालिकालाई कस्तो बनाउने भन्ने खाका हामीले तयार गर्दैछौ, उनले थपे–समृद्ध साकेला बनाउन अहिलेको जनप्रतिनिधिहरु संवेदनशिल छौं । 
    सोही अवसरमा बोल्दै उनले संघ र प्रदेशले हरेक वर्ष दिने पैसाले स्थानीय तहको समृद्धि र जनताको सपना पुरा नहुने बताउँदै उक्त पैसालाई सही ठाउँमा सदुपयोग गरी सामूहिक आयआर्जनलाई जोड दिएमात्र आर्थिक रुपमा समृद्ध हुन सकिने बताए । 
    एक अर्को प्रसंगमा अध्यक्ष राईले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई गुणस्तर बनाउन सके बसाँइसराई न्यूनिकरण गर्न सकिने समेत बताए ।

    हाम्रो शैक्षिक अवस्था गुणस्तर छैन, स्वास्थ्य उपचार प्रभावकारी छैन, सडक पूर्वाधारको अवस्था उस्तै भएपछि सुविधाका लागि स्थानीय बसाँइसराई जानु सामान्य विषय हो, अध्यक्ष राईले भने– बसाँइसराईलाई नियन्त्रण गर्नको लागि भविष्य सम्मको विकासको खाका तयार गर्दै आयआर्जनलाई वृद्धि गर्नुपर्छ ।

    यसअघि स्थानीय सरकारहरुले कृषिमा गरेको लगानी त्यसै खेर गएको र आगामी दिनमा कार्यविधि बनाएर वीउपूँजीको रुपमा कृषकलाईअनुदान उपलब्ध गराईने अध्यक्ष राईले बताए । कृषिलाई व्यवसायिक बनाउन र कृषकलाई जिम्मेवार बनाउन वीउपूँजीको अवधारणा अघि सारिने उल्लेख गरे । 

    तीन दिनसम्म सञ्चालन भएको तालिममा ४० जना कृषकहरुको सहभागिता रहेको थियो । तालिम समापनको अवसरमा कृषकहरुलाई विभिन्न कृषि समाग्री हस्तान्तरण गरिएको थियो वडा नं. ५ का वडाध्यक्ष जीवन खत्रीले बताए । 

    ji.jpg

    यस्तै, साकेला गाउँपालिकाको वडा नम्बर २, ४ र ५ को बेशी क्षेत्रका किसानहरु कफी खेतीबाट राम्ररी आयआर्जन गर्न सकिने कुरामा ढुक्क छन् । उक्त क्षेत्रका किसानहरुले कफी खेतीबाट मनग्ये आम्दानी समेत गर्न थालेका छन् भने एकै घरमा २ सय बिरुवासम्म कफी रोपेका छन् । 

    अहिले विश्वबजारमा कफीको राम्रो माग छ । नेपालमै टिप्न बित्तिकैको ए ग्रेडको चेरीलाई ९५ रुपैंया, बि ग्रेडको चेरीलाई ८५ रुपैंया प्रतिकेजीसम्म बिक्रि हुने गरेको छ । त्यस्तै पार्समेन्ट ए ग्रेडको कफिको प्रतिकेजी मूल्य ४७५ रुपैंया र बि ग्रेडको मूल्य ४२० रुपैंया छ भने ग्रिनवीन गुणस्तर अनुसार १ देखि २ हजार रुपैंया प्रतिकेजी मूल्य भएको साकेला गाउँपालिकाका कृषि शाखा अधिकृत अनन्त ढकालको भनाई छ ।  

    2a.jpg

    प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - २२:३६:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको