मेयर कप आमन्त्रित अन्तर क्लब फुटबल प्रतियोगिताको  खेल तालिका सार्वजनिक

मेयर कप आमन्त्रित अन्तर क्लब फुटबल प्रतियोगिताको  खेल तालिका सार्वजनिक

रोदिक खबर

२०, फाल्गुण २०७९
  • 3.7K
    SHARES
  • मेयर कप आमन्त्रित अन्तर क्लब फुटबल प्रतियोगिताको  खेल तालिका सार्वजनिक

    खोटाङ । खोटाङ फुटबल एकेडेमी (केएफए) ले दिक्तेल मेयर कप आमन्त्रित अन्तर क्लब फुटबल प्रतियोगिताको  खेल तालिका सार्वजनिक गरेको छ । आयोजक केएफएले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेल साकेला फुटबल क्लब रतन्छा र नमुना स्पोर्टस क्लब लफ्याङबिच हुने भएको छ  भने दोश्रो खेल खकलुङ युनाइटेड क्लब बासपानी र नेर्पा स्पोर्टस क्लब नेर्पाबिच हुने जानकारी दिएको छ ।

    फाल्गुण २७ गतेदेखि ३० सम्म माटिकोरे खेलमैदानमा हुने प्रतियोगितामा माटिकोरे सामाजिक सेवा समाज दिक्तेल र दिक्तेल फुटबल क्लब तथा आयोजक केएफए भर्सेस सोल्मा स्पोर्टस क्लबको प्रतिस्पर्धा हुनेछ ।

    जिल्लाभित्रका खेलाडीलाई प्रोत्साहन गराउन र स्थानीय क्लबको परिचय गराउँदै क्बललाई स्थापित गराउने लक्ष्यका साथमा प्रतियोगिता गराउन लागिएको प्रतियोगितामा आठवटा क्लबको सहभागिता रहने खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैंजुले बताए। सैंजुका अनुसार टिम दर्ताका लागि २५ फाल्गुणसम्म सम्पूर्ण कागजात आयोजकलाई बुझाउनु पर्नेछ । 

    प्रतियोगिताको विजेताले नगद एक लाख २५ हजार र उपविजेताले नगद ६२ हजार ५०० सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा गोल्डेन ग्लोब्स, गोल्डेन बल र गोल्डेन सुज विधा जित्ने खेलाडीले नगद पाँच हजार र म्यान अफ द म्याच हुने खेलाडीले एक हजार नगदका साथमा मेडल पाउने एकेडेमीका कोषध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिए ।

    खेलमा जिल्लाभित्रका खेलाडी तथा अफिसियलहरु मात्रै समावेश गर्न पाईनेछ । टिम दर्ता गर्न आठ हजार पाँच सय, टिम धरौटी तीन हजार र टिम दर्ता भइसकेपछि खेल त्यागेमा एक लाख जरिवाना लगाई केएफएले गर्ने प्रतियोगितामा आजिवन प्रतिबन्ध लगाईने श्रेष्ठले बताए ।

    ‘खोटाङको पहिचान खेलकुदको अभियान’ नाराका साथमा दिक्तेललाई कार्यक्षेत्र बनाएर २०७३ सालमा स्थापना भएको एकेडेमीले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिताहरु गराउँदै आएको छ ।

    प्रकाशित मिति :फाल्गुण २०, २०७९ शनिवार - २१:३८:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको