खोटाङ । खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवद्र्धन कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिंगो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो ।
कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलाको भएभरका पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताए ।
जलविद्युत आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सु खोलामा ड्याम हालिएको छ । २०७८ मंसिर १४ गतेदेखि परिक्षण उत्पादन सुरु गरिएको जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २०७८ पुसमा राष्ट्रिय प्रशारण लाईनमा जोडिएको थियो ।
जलविद्युत आयोजनाको डिसेन्डर, क्यानल र पानी जमाउने रिजभ्र्वयर वरपर हालसम्म तारबार नलगाइएकाले मान्छेदेखि जनावर डुव्ने जोखिम छ । वरपर तारबार नहुँदा व्यक्ति तथा जनावर सहजै रिजभ्र्वयरमा जान सक्ने र डुव्न सक्ने भएकाले धराप थापेजस्तो बनेको हो ।

प्रजिअ सेडाईले कम्पनीका प्रोजेक्ट इन्चार्ज प्रदिप दाहाललाई १५ दिनभित्र रिजभ्र्वयर वरपर घेरावारा गरिसक्न दिर्नेशन दिएका छन् । व्यक्ति तथा जनावर रिजभ्र्वयरभित्र परेको खण्डमा उद्धारका लागि लाईफ ज्याकेटको व्यवस्था गर्न र तालिम प्राप्त उद्धारकर्मी तयारी अवस्थामा राख्न भनिएको छ ।
यस बाहेक ड्यामदेखि पावरहाउसकोबिचमा गेटभल्व खोल्दा खोलामा झर्ने पानीबाट स्थानीयलाई जोगाउन पूर्वजानकारी दिने ‘साइरन’को व्यवस्था गर्न निर्देशन दिइएको प्रजिअ सेडाईले बताए । प्रोजेक्ट इन्चार्ज दाहालले कमजोरी स्वीकार गर्दै अधुरो कामलाई पूर्णता दिने जवाफ दिएका छन् ।