उमेर हद नाघेका खेलाडी समावेश गराउने स्थानीय तहलाई अनुशासनको कारबाहीको माग

उमेर हद नाघेका खेलाडी समावेश गराउने स्थानीय तहलाई अनुशासनको कारबाहीको माग

रोदिक खबर

१, बैशाख २०८०
  • 3.7K
    SHARES
  • उमेर हद नाघेका खेलाडी समावेश गराउने स्थानीय तहलाई अनुशासनको कारबाहीको माग

    खोटाङ, १ बैसाख । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत जिल्लास्तरीय छनौट प्रतियोगितामा उमेर हद नाघेका खेलाडी समावेश गराउने स्थानीय तहलाई अनुशासनको कारबाहीको माग गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १८ वर्ष उमेर पार गरेका विद्यार्थीलाई सटफुटमा सहभागी गराएकोमा हलेसी तुवाचुङ नगरपालिकामाथि अनुशासनको कारबाही माग गरेको हो । 

    गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई र वडाध्यक्ष भुपेन्द्र बस्नेतको उपस्थितिमा बिहिबार शुभम फाउण्डेसनमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालन निर्देशिका (चौथो संशोधन सहित), २०७० को दफा १८ (ख) बमोजिम कारबाही माग गरिएको जानकारी दिए ।

    निर्देशिका बमोजिम कारबाही नभए कानुनी उपचारका लागि सम्वन्धित निकायमा जाने गाउँपालिकाले जनाएको छ । सर्टफुटमा हलेसी तुवाचुङ नगरपालिकाका खेलाडीसँग दिप्रुङ चुईचुम्मा गाउँपालिकाका खेलाडी पराजित भएका थिए । तर, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको माग दावीपछि जिल्ला खेलकुद विकास समितिले सो पदक खोसेर दिप्रुङका खेलाडीलाई विजेता घोषणा गरेको थियो । 

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अनुशासनको कारबाहीको माग उठाएपछि केही समय अन्योलमा रोकिएको खेल सामाजिक विकास मन्त्रालय, प्रदेश खेलकुद विकास बोर्ड, बिराटनगरको निर्देशनपछि सुचारु गराइएको छ ।

    बोर्डले मापदण्ड विपरितका खेलाडीले गरेको पदक खोसी निकटका प्रतिष्पर्धीलाई उपलव्ध गराइदिन र उक्त एथ्लेटिक्स खेलका बाँकी रहेका इभेन्टमा उजुरी पर्नु अगाडिका पदक विजेतालाई पदक कायम रहने तथा एथ्लेटिक्सका बाँकी इभेन्टमा उक्त स्थानीय तहलाई सहभागी नगराउने तर अन्य टिम र इभेन्टका गेममा उक्त स्थानीय तहलाई सहभागी गराउन निर्देशन दिएका थियो । बोर्डको निर्देशन अनुसार हलेसी तुवाचुङले भलिबल, कराते र कबड्डीमा मात्र प्रतिष्पर्धा सहभागी हुन पाउने जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । 

    राष्ट्रपति रनिङ शिल्ड तीन पालिकाको ‘शून्य’ सहभागीता 

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत जिल्लास्तरीय छनौट प्रतियोगितामा कतिपय स्थानीय तहले आफ्नो उपस्थिति देखाउनै सकेनन् । जिल्लाका १० स्थानीय तहमध्ये बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले आफ्नो सहभागीता देखाउन सकेनन् ।

    सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समेत सबै खेलमा आफ्नो खेलाडी पठाउन सकेन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट कराते र तेक्वान्दोमा मात्र सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १, २०८० शुक्रवार - १०:१०:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको