दिलीप राई बने ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’

दिलीप राई बने ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’

रोदिक खबर

११, बैशाख २०८०
  • 2.3K
    SHARES
  • दिलीप राई बने ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दिलीप राई ‘गाउँपालिका तारा’ बनेका छन् । गायन प्रतियोगीता ‘ दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’को आइतबार सम्पन्न फाइनल अडिसनमा १६ प्रतिष्पर्धीलाई पछि पार्दै दिलीप ‘गाउँपालिका तारा’ बन्न सफल भएका हुन् ।

    ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ को फाइनलमा पुगेका १६ प्रतिष्पर्धीमध्ये प्रदीप राई दोश्रो र संग्राम राई तेश्रो भएको गाउँपालिकाका सूचना अधिकारी पिएस्पी चाम्लिङले बताए । 

    ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ मा प्रथम स्थान प्राप्त गरेका दिलीपले गाउँपालिकाबाट नगद एक लाखका साथमा ट्रफी र एउटा गीत रेकर्ड गर्ने अवशर पाएका छन् ।

    यस्तै, दोश्रो स्थान प्राप्त गर्ने प्रदीप र तेश्रो स्थान प्राप्त गर्ने संग्रामले क्रमशः नगद ६० हजार र ३५ हजार ट्रफी पाएका छन् । ‘गाउँपालिका तारा’ का लागि गाउँपालिकाभित्रका ३९ जनाले अडिसन दिएका थिए ।

    गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाको खोजी गर्दै ती प्रतिभा प्रष्फुटन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ चालु आर्थिक वर्ष विनियोजन गरिएको १० लाख बजेटबाट गाउँपालिकाले खोटाङ कलाकार समाज, काठमाडौंसँगको सहकार्यमा दिप्रुङ चुइचुम्मा गाउँपालिका ‘गाउँपालिका तारा सजन–२’ को आयोजना गरेको हो । 

    गाउँपालिकाको केन्द्र याङसोलाटारमा आयोजना गरिएको फाइनल अडिसनमा चर्चित गायीका मेलिना राईले विशेष प्रस्तुतीमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा’ लाई आगामी वर्ष पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । ‘गाउँपालिका तारा सिजन–१’ २०७६ सालमा सञ्चालन गरिएको थियो । 

    एकल नृत्य प्रतियोगीतामा मनिता प्रथम 

    ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा’ सँगै खोटाङ कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगीतामा मनिता राई प्रथम, मेरिना मगर दोश्रो र सुनिता राई तेश्रो भएका छन् । नृत्यतर्फ १३ जनामध्ये फाइनलमा पुगेका ६ जनालाई उछिन्दै तीन प्रतिभा विजेता बनेका हुन् । नृत्यमा प्रथम, दोश्रो र तेश्रो हुने प्रतिभाले क्रमशः १० हजार ७ हजार र ५ हजारका साथमा प्रमाण–पत्र प्राप्त गरेका छन् । 

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर, नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेसका नेता केशबराज कार्की, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सभापति अमृत गिरी, माओवादी केन्द्रका युवा नेता गोपालचन्द्र राई, नेपाली कांग्रेसका युवा नेता नइन्द्र कुमार राई, गायक तथा संगितकार एवं खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई, नेपाल पत्रकार महासघ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा गायिका पार्वती राई, संगितकार विजय राई (तोरेम्पा हाङ), गायिका वविना किराँती, पार्वन राई, रोशन राई लगायतका कलाकारको पनि प्रस्तुती रहेको थियो ।

    प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - ११:११:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको