खोटाङ । भोजपुरको हतुवागढी नगरपालिका–४ का ब्रेन ट्यूमर पीडित ४१ वर्षीय शशीकला राईको उपचारार्थ खोटाङमा सहयोग संकलन गरिएको छ ।
किरात राई विद्यार्थी संघ केन्द्रिय समितिको आग्रहमा अभियान्ता सञ्जयकुमार राईको पहलमा जिल्लामा १४ जना दाताबाट ११ हजार १२० रुपैयाँ सहयोग रकम संकलन गरिएको हो ।
संकलित रकम सोमबार ब्रेन ट्यूमर पीडित शशीकलाको नाममा पठाइएको अभियान्ता राईले बताए । शशीकला संघको धनकुटा जिल्ला सदस्य एलिसा राईको आमा भएकाले किरात राई विद्यार्थी संघले ‘शशिकला राई उपचार सहयोग अभियान’ सञ्चालनमा अग्रसरता लिएको हो । शशिकलाको उपचार सहयोगका लागि संघले भदौ १३ गते अभियान्ता सञ्जयकुमार राईलाई पत्रमार्फत आग्रह गरेको थियो ।
ब्रेन ट्यूमर पीडित शशीकलाको तिलगंगा आँखा अस्पताल, भक्तपुर क्यान्सर अस्पताल हुँदै हाल बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । बिरामीको आर्थिक अवस्था कमजोर भएकाले किरात राई विद्यार्थी संघले सचिव प्रविणा राईको संयोजकत्वमा ‘शशिकला राई उपचार सहयोग अभियान’ अभियान सञ्चालन गरिरहेको छ ।
हाल उनको सहयोगका लागि विभिन्न ठाउँमा आर्थिक संकलन भइरहेको छ । शशिकलाको सहयोगका लागि सिद्धार्थ बैंक गोंगबु शाखामा प्रबिणा राईको नाममा खोलिएको खाता नम्बर ०१६१५०७२४६५ मा रकम जम्मा गर्न सकिने संघले जनाएको छ ।