भदौ १ सोमवार, २०७७
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिको टेवा पर्खाल पूर्णरुपमा भत्किएको छ । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १० लाख बजेटमा निर्माण गरिएको पर्खाल पूर्णरुपमा भत्किएको हो ।
जाली सहितको र जाली बिनाका तीन वटा टेवा पर्खालमध्ये एउटा पर्खाल साउन ५ गते नै भत्किएको थियो । बाँकी दुईवटा जाली विनाका पर्खाल मंगलबार पूर्णरुपमा भत्किएको विद्यालयकी निमित्त प्रअ निर्मला थापाले जानकारी दिईन ।
टेवा पर्खाल भत्किएर किच्दा विद्यालयको जग नै चर्किएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतप्रसाद राईले बताए । उनले भने, ‘पर्खाल पूर्णरुपमा भत्कियो, निर्माण कम्पनीसँग सहकार्य गरेर त्यहि १० लाख बजेटबाट फेरी पर्खाल निर्माण गर्ने तयारी गरिरहेका छौं, हेरौं कत्तिको संम्भव हुन्छ ।’
प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत खोटाङ प्रदेश ९ख० का संसदबाट उक्त विद्यालयको वाल निर्माणका लागि १० लाख रुपैयाँ विनीयोजन भएको थियो ।
तर, अहिले त्यो बजेटले सबैलाई चिन्ता थपिदिएको छ । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै कारण विद्यालयका प्रअ रत्नकुमार बस्नेतले प्रअ पद गुमाउनु परेको थियो ।
तत्कालिन प्रअ बस्नेतले विद्यालयको टेवा पर्खालको काम सम्पन्न नहुँदै अर्कै ठाउँको तस्बिर देखाएर फस्र्यौट गर्न लागेका थिए । उनले बदनियपूर्ण तरिकाले अर्कै ठाउँको फोटो पेश गरेपछि गाउँपालिकाले असार २८ गते उनलाई पदबाट हटाएको थियो ।
योजनाको काम पूर्णरुपमा सम्पन्न नहुँदै असम्वन्धित योजनाको तस्बिर राखेर फस्र्यौटमा गएको खुलेपछि बस्नेत प्रअबाट हटाइएपछि व्यवस्थापन समितिले निमित्त प्रअ बनाएका थापाले असार २९ गते योजनाको फरफारक गरेकी थिईन्। योजना फस्र्यौटका लागि असार २२ गते गाउँपालिका पुगे पनि ओख्रेको आरुबोटे–लहरेपैयूँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुंगा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्बिर पेश गरेको र काम पुरा नभएको भन्दै गाउँपालिकाले ‘एक्सन’ लिएपछि असार २५ गते पर्खालमा माटो फिलिङको काम पुरा गरिएको थियो ।
हाल विद्यालयमा निर्माण गरिएको पर्खाल भत्किएपछि सबैको चासोकोे विषय बनेको छ ‘जयसरस्वती प्राबिको सपोर्ट वाल’ १ पूर्वाधार विकास कार्यक्रम अन्तरगतको यो योजनाले शिक्षक, विव्यास समिति र निर्माणको जिम्मा लिएको ठेकेदारलाई मात्र चिन्ताको विषय बनेन । सबैको रमिताको विषय बनेको छ । तत्कालिन प्रअ बस्नेत, निर्माण कम्म्पनी र विद्यालय व्यवस्थापन समितिको लापरवाहीका कारण कमसल सामग्रीको प्रयोग गरिँदा टेवा पर्खाल भत्किन पुगेको एक स्रोतले जानकारी दिएको छ ।
टेवा पर्खाल निर्माणमा लागेका विद्यालयका तत्कालिन प्रअ निर्माण कम्पनी र विव्यास समितिले गुणस्तर भन्दा पनि केही रकम आफ्नो गोजीमा पार्ने लक्ष्य राखेका कारण परिणाम यस्तो आएको स्रोतले दावी गरेको छ । साउन ५ गते एउटा टेवा पर्खाल भत्किएपछि साउन ८ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भत्किएको टेवा पर्खाल विद्यालयको आन्तरिक कोषबाट मर्मत गर्ने निर्णय गरे लगत्तै गाउँपालिकाले विद्यालयको खाता बन्द गराएको थियो ।
संसदमा संसदलाई पूर्वाधार विकास कोषका नाममा बजेट दिन नहुने कुरा उठीरहेका वेला यो घटनाले संसदले बाँडेका योजनामा कति वेथिति भएका होलान रु पारदर्शितामाथी छानविन गर्ने निकाय किन मौन रु गम्भिर प्रश्न उव्जिएको छ । संसदले बाँडेका कतिपय योजना गाउँ–गाउँमा कामै नभइ अलपत्र अवस्थामा रहेका छन् त कतिपयलाई कमाई खाने भाँडो भएको छ ।