नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले भ्रष्टाचार विरुद्ध सशक्त अभियान जरुरी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको मावि तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पोखरेलले विकास प्रक्रिया, राजनीतिक प्रक्रिया र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाढि बढाउन भ्रष्टाचार एकदमै घातक रोगको रुपमा देखा परेकाले भ्रष्ट मानसिकता विरुद्ध भित्रबाहिर सबैतिर सघर्ष गर्न जरुरी रहेको औंल्याएका हुन् ।
भ्रष्टाचार विरुद्ध एउटा शसक्त अभियान जरुरी छ । अहिलेको सरकारले भ्रष्टाचार विरुद्धमा कदम अगाडि बढाएको छ, उनले भने, अरु क्षेत्रमा देखा परेको भ्रष्टाचार विरुद्ध पनि सशक्त अभियान चलाउन आवश्यक छ । उपमहासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न आग्रह गरे ।
हाम्रो छिमेकीहरुसँगको सम्वन्धलाई अत्यन्तै महत्व सहित अगाडि बढाएर मात्रै हामी अगाडि बढ्न सक्छौँ, पोखरेलले भने, यो पक्षलाई हेरेर प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ । म त्यसलाई वस्तुनिष्ठ ढंगले मूल्यांकन गर्न आग्रह गर्न चाहन्छु ।
नेकपा माओवादी केन्द्र खोटाङका अध्यक्ष दिपक पाण्डेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य समिता कार्की लगायतले सम्वोधन गरेका थिए ।