खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुविधा सम्पन्न जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरभित्रका नागरिकलाई स्वास्थ्य चौकीसम्म तथा जिल्ला बाहिर उपचारमा जान आउन सहज बनाउने उद्देश्यले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले वर्गीकरण गरे अनुसारको आवश्यक उपकरण र औषधिसहित ‘ख’ वर्गको एम्बुलेन्स शनिबारबाट सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाको प्राङगणमा नगरप्रमुख बिमला राईको अध्यक्षतामा भएको बीमा सेवा र एम्बुलेन्स शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले रिबन काटेर एम्बुलेन्सको शुभारम्भ गरेका हुन् ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले ‘ख’ वर्गको एम्बुलेन्समा आवश्यक उपकरण र औषधि हुनुपर्ने व्यवस्था गरेको छ । त्यही अनुसार २२ वटा उपकरण जडित र जिपिएस ट्रयाकिङ सिस्टम भएको एम्बुलेन्स सञ्चालनमा ल्याईएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए । घिमिरेका अनुसार जिपिएस ट्रयाकिङ सिस्टम भएकाले एम्बुलेन्स कहाँ छ, कहाँ रनिङ गरिरहेको छ भन्ने नगरपालिकाबाटै ट्रयाकिङ गर्न सकिनेछ । जसले गर्दा दुरुपयोग हुन पाउने छैन ।
एम्बुलेन्स खरीदका लागि नगरपालिकाले २० लाख १० हजारको टेण्डर आव्हान गरेको थियो । टेण्डर बाहेक जिपिएस ट्रयाकिङ सिस्टम जडान, एम्बुलेन्स पेन्टिङ र लेखनसहित कूल २३ लाख ८७ हजार ५५० रुपैयाँमा एम्बुलेन्समा बजेट खर्च भएको छ ।
गर्भवती र सुत्केरी नकिकैको स्वास्थ्य चौकीमा जानुहुन्छ सेवा लिन, त्यहाँ चाँहि सेवा हुन्न, सकिन्न भने स्वास्थ्यकर्मीको रिफरमा उहाँहरुलाई बाहिर अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको नगरप्रमुख बिमला राईले बताइन् । अन्यका हकमा भने भाडादर तोकिएको छ ।
नगरप्रमुख राईका अनुसार ११ वडामा एम्बुलेन्स चल्ने सडक भए पनि त्यस सडकलाई निरन्तर चल्ने बनाउनुपर्ने बाध्यता रहेको बताईन् । जसका कारण एम्बुलेन्स अझै सहज तरिकाले चलाउन सकिनेछ ।
११ वडा रहेको नगरपालिकाभित्रका विरामीहरुले स्वास्थ्य चौकी तथा जिल्ला वाहिर जाँदा महंगो भाडा तिरेर जानुपर्ने बाध्यता थियो । सुविधायुक्त एम्बुलेन्स नगरपालिकाले सञ्चालन गरेपछि नगरबासीले सामान्य भाडादरमै एम्बुलेन्स प्रयोग गर्न पाउने उपप्रमुख रमेशकुमार राउतले बताए ।