खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई सकेपछि पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
शनिबार नगरपालिकाको प्राङगणमा जिल्ला समन्वय समिति प्रमुख एवंम् पूर्ण खोप समन्वय समिति संयोजक सनबहादुर राई, नगरप्रमुख बिमला राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलासबहादुर ठकुराठी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल लगायतले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरे बताए ।
पूर्ण खोप सुनिश्चितता घोषणाका लागि नगरपालिकाका सम्पूर्ण स्वयम्सेविका ‘खोज र खोप’ अभियान नै चलाएर घर घर गएर खोप कार्ड हेरेर लक्षित बालबालिकाले खोप लाए/नलाएको सुनिश्चित गरेका थिए । नगरपालिकाले पूर्ण खोप सुनिश्चित गरेपछि पुनः जिल्ला स्वास्थ्य कार्यालयबाट पनि बालबालिकाले १३ किसिमको खोप लाए/नलाएको अनुगमन र सुपरीवेक्षण गर्ने काम स्वास्थ्य कार्यालयले गरेको थियो । स्वास्थ्य कार्यालयले खोप सुनिश्चित भएको अनुमति दिएपछि पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
पूर्ण खोप निर्देशिका २०७७ अनुसार सबै प्रक्रिया पुरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा गर्न स्वास्थ्य कार्यालयले अनुमति दिएपछि पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । सिग्देलका अनुसार हलेसी बाहेक साकेला गाउँपालिका, बराहापोखरी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेंशी गाउँपालिका, ऐसेलुखर्क गाउँपलिका, केपिलासगढी गाउँपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा गरिसकेको छ ।