शुक्रवार, भाद्र २६ गते २०८३

वित्तीय साक्षरता कक्षाले स्थानीयमा बचत गर्ने बानीको विकास

वित्तीय साक्षरता कक्षाले स्थानीयमा बचत गर्ने बानीको विकास

रोदिक खबर

१३, आषाढ २०८०
  • 4.6K
    SHARES
  • वित्तीय साक्षरता कक्षाले स्थानीयमा बचत गर्ने बानीको विकास

    खोटाङ । वित्तीय साक्षरता कक्षाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका स्थानीय बासिन्दामा बचत गर्ने बानीको विकास भएको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम खोटाङले मङ्गलबार नुनथलामा आयोजना गरेको सञ्चारकर्मी र सरोकारवालाबीच अन्तरक्रिया गर्नेक्रममा यस्तो पाइएको हो । वैदेसिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका आफन्तले विदेशबाट पठाएका पैसाले नुनथलाका अधिकांश स्थानीय बासिन्दाले केही न केही व्यवसायसमेत शुरु गरेका छन् । केहीले व्यापार त केहीले तरकारी तथा बङ्गुरपालन गरेका छन् ।

    bitiya1.jpg

    नुनथलास्थित मुलडाँडाकी साङडोमा शेर्पाले विदेशबाट आएको रेमिट्यान्सलाई फजुल खर्च नगरी बचत गर्न थालेको बताए । “सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सञ्चालन गरेको २१ हप्ते रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षापछि आफ्नो श्रीमानले कतारबाट पठाउने पैसालाई चाहिँदो मात्रामा घर खर्च गरेर बचत गर्न थालेकी छु”, उनले भनिन्, “बालबालिकाको फजुल खर्च घटाएकी छु । पसलसँगै बङ्गुर पालेर आम्दानी बढाउन थालेको छु । श्रीमान विदेशमा हुनुहुन्छ । परिवार चलाउन उहाँको मात्र भर पर्दिन । म पनि आम्दानी गर्छु ।”

    नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रमले नुनथलामा २१ दिने रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा समापनको अवसरमा मङ्गलबार स्थलगत अध्ययन र अन्तरक्रिया गर्दा साङडोमाले जस्तै सहभागीहरुले फजुल खर्च घटाएर बचत गर्न थालेको बताएका छन् । नुनथलाकै मिना राईले छोरा दुबईमा रहेको र छोराले विदेशबाट पठाएको पैसालाई बढाउन डालो, नाङ्लो, थुन्से लगायतका सागम्री बुन्ने व्यवसायमा लगानी गरेको बताइन्।

    वित्तीय साक्षरता कक्षा लिएपछि विदेशबाट आएको पैसालाई फजुल खर्च नगरी सही ठाउँमा सदुपयोग गर्न र बचत गर्नुपर्छ भन्ने चेतना आएको साङलामु शेर्पाले बताइन्। कक्षा लिएपछि नै कतार पुगेका श्रीमानको सम्पूर्ण कागजातको एकएक प्रति फोटोकपी गरेर घरमै राखेको साङलामुले जानकारी दिईन्।

    वित्तीय साक्षरता कक्षाले आम्दानी बढाउनुपर्ने खर्च कम गर्नुपर्ने बानीको विकास गराएको अन्तरक्रियामा सहभागी निर्मला तामाङले बताइन् । तामाङले अहिले खुत्रुके बचतलाई प्राथमिकता दिएर बाख्रा पालन व्यवसायी शुरु गरेकी छन् । अर्का सहभागी पवित्रा तामाङले पनि खुत्रुके बचत गर्दै कुखुरा र बाख्रापालन शुरु गरेको बताइन् । नुनथलाकै फुर्लमु शेर्पाले बङ्गुरपालन शुरु गरेकी छन् ।
    वित्तीय साक्षरता कक्षापछि व्यवसायिक रुपमा बेमौसमी तरकारी खेती गर्न थालेको मुलडाँडाका दोर्जे शेर्पाले बताए । “एउटा टनेलामा टमाटर र अर्को टनेलामा फूलकोभी लगाउँदै आएको छु । गाँजर, खुर्सानी, बन्दाकोभी पनि लगाएको छु । उत्पादन भएका तरकारी दिक्तेलमा बिक्री गर्न लान्छु”, उनले भने, “आफूले बिक्री गरेको सम्पूर्ण आयव्याय खर्च पनि राख्न थालेको छु ।”

    वित्तीय साक्षरता कक्षापछि नै ‘नुनथला वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श समूह’ नामक कृषि समूह नगरपालिकामा दर्ता गरिसकेको शेर्पा बताए। वैदेसिक रोजगारीमा रहेका व्यक्तिका परिवारले गठन गरेका कृषक समूहलाई वडा कार्यालयबाट समेत सम्बोधन गर्ने गरिएको नुनथलाका वडाध्यक्ष भगेश्वर राईले बताए ।

    वरिष्ठ पत्रकार कृष्ण आचार्यले समस्यापछि लड्नुभन्दा वैदेशिक रोजगारसम्बन्धी अगाडि नैै सचेत भएमा समस्या कम गर्न सकिने बताए ।  श्रीमान वा विदेश जाने व्यक्तिको प्रत्येक कागजातको फोटोकपी मगाएर अनिवार्य रुपमा घर परिवारले राख्न पत्रकार आचार्यले सुझाव दिए।

    रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षाले फजुल खर्च गर्नबाट जोगाएर परिवारको श्रीमानलाई बारम्बार विदेश जान रोक्नमा मद्दत गर्ने सामीका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । कार्यक्रममा वित्तीय साक्षरता कक्षामा रेमिट्यान्स सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि, व्यवसायिकता, आर्थिक, व्यवहारिक विषयवस्तुहरुमा छलफल गरिएको थियो ।

    वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा हुने पीडा, चिन्ता, हिंसा लगायतका विषयमा मनोसामाजिक परामर्शसमेत दिइएको थियो । नुनथलास्थित वडा कार्यालयमा आयोजित वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा संलग्न व्यक्तिका परिवार, विशेष गरेर महिला सदस्यहरु सहभागी भएका थिए ।

    चालू आर्थिक वर्षमा नुनथला र जालापमा २५/२५ जनाको दुई/दुई समूह बनाएर वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा नेर्पा र बुइपामा सञ्चालन गरिएको कक्षा क्रमशः सबै वडामा सञ्चालन गरिने संयोजक आचार्यले जानकारी दिए।

    वित्तीय साक्षरता कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाले पनि सञ्चालन गरिरहेको छ । दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा छ ।

    प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - १५:०४:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको