असार सकिँदा खोटाङमा ३३.५ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र खोटाङले असार मसान्तसम्म ३३.५ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको जनाएको छ । यो गत बर्षको तुलनामा थोरै हो । गत बर्ष असार २९ सम्म ५८ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो भने आर्थिक वर्ष २०७९/२०८० मा असार मसान्तसम्म ३३.५ प्रतिशत अर्थात ४ हजार ३२० हेक्टरमा क्षेत्रफलमा रोपाइँ भएको छ । गत बर्षको तुलनामा २४.५ प्रतिशत रोपाइँ कम भएको हो ।
जिल्लाभर १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने कारण जिल्लाका कतिपय ठाउँमा मकै उठाएर रोपाइँ गर्ने कारणले यस बर्षको रोपाइँ ढिला भएको छ । तैपनि रोपाइँ ढिला हुँदा धान उत्पादनमा कमी आउन सक्छ । अर्कोतिर यो बर्ष महामारी रुपमा देखा परेको लम्पी स्किन रोगका कारण धान रोपाइँ प्रभावित हुन पुगेको छ । लम्पी स्किन रोगका कारण खेत जोत्ने गोरु बिरामी हुँदा खेत रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
खोटाङका कुन पालिका कति रोपाई ?
खोटाङ जिल्लाका दश स्थानीय तहको रोपाइँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३० प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा २५ प्रतिशत, केपीलासगढी गाउँपालिकामा ३० प्रतिशत, ऐसेलुखर्कमा गाउँपालिका २० प्रतिशत, साकेला गाउँपालिका ४० प्रतिशत, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६० प्रतिशत रोपाइँ भइको छ ।
यस्तै, खोटेहाङ गाउँपालिकामा ५० प्रतिशत, जन्तेढुंगामा ४० प्रतिशत, बराहपोखरी गाउँपालिकामा २० प्रतिशत र रावावेसी गाउँपालिकामा १५ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।