खोटाङ । जिल्ला अदालत खोटाङले चालू आर्थिक वर्ष २०७९/८० मा ८० प्रतिशत मुद्दा फस्यौट गरेको छ । कुल ४९९ थान मुद्दामध्ये ३९९ मुद्दा फस्यौट गरेको जिल्ला अदालतले बताएको छ । ३१९ मुद्दा फस्यौट गर्ने लक्ष्य लिएको भएपनि ३९९ मुद्दा फस्यौट गरेको जनाएको छ । जसमा लक्ष्य भन्दा ८० वटा बढी मुद्दा फस्यौट गर्न सफल भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रमाकान्त यादवले जानकारी दिए ।
श्रेस्तेदार यादव अनुसार जिल्ला अदालत खोटाङमा एक सय थान मुद्दा फस्यौट हुन बाँकी छन् । दुई वर्ष पुरानो बाँकी मुद्दा भनी शून्यमा झारेको छ । जिल्ला अदालमा सम्बन्ध बिच्छेद (डिभोर्स) का मुद्दा अरु मुद्दाको तुलनामा बढी रहेका छन् । अदालतको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन् । यस वर्षको तथ्यांक ४९९ मुद्दामध्ये २२८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् ।
अदालतमा आउने सम्बन्ध बिच्छेदका अधिकांश मान्छे २० देखि २७ वर्षसम्मका रहेका छन् । कलिलै उमेरमा विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा २५ वर्ष नाघेपछि अधिकांश जोडीहरु सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न आउने गरेको जनाएको छ । पठाएको रेमिटान्स जथाभावी खर्च र दुरुपयोग गरेको कारण पनि सम्बन्ध बिच्छेद बढ्दै गएको छ । ६० प्रतिशत मान्छे दुःख पाएर सम्बन्ध बिच्छेद गर्न आउने गरेको अदालतका श्रेस्तेदार यादवले बताए ।
यस वर्ष सम्बन्ध बिच्छेद २२८, जवरजस्ती करणी ३८, बालबिवाह १, लागुऔषध ४, कर्तव्य ज्यान १०, चोरी १०, अभद्र व्यवहार १, मेलमिलाप २८ र जेष्ठ नागरिक १ थान मुद्दा दर्ता भएका मध्ये १ सय थान मुद्दा बाँकी रहेको र ती मुद्दाहरु चाडै फस्र्यौट गर्ने गरी काम गर्न लागिरहेको अदालतले जनाएको छ । मुद्दा लिएर आउने सेवाग्राहीलाई राहतको महसुस हुने खालको काम भइरहेको र सेवाग्राहीलाई बिचौलीयाको पछाडि नलाग्न आफैले मुद्दाको बिषयमा छलफल गरेर सल्लाह सुझाव दिने गरेको श्रेस्तेदार यादवले बताए ।