साहित्यकार तथा पत्रकार श्रीराम राईसहित दर्जन बढि स्रष्टा सम्मानित भएका छन् । साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सवको अवसरमा १३ जना विशिष्ट साधकहरुलाई अभिनन्दन तथा साहित्यिका विभिन्न विधामा योगदान गर्ने दर्जन बढि स्रष्टाहरूलाई सम्मान गरेको हो ।
साहित्यक पत्रकारिताका माध्यमबाट साहित्यको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै राईलाई सम्मान गरिएको हो । १० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका, श्रीराम साहित्य लेखन र पत्रकारितामा क्रियाशिल छन् । विशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कहलिएका पात्र हुन् । उनका बालकथासंग्रह पोलेको मकै २०७८ र टोली नेता २०७४ प्रकाशित छन् ।
उनले लघुकथा प्रकाशोन्मुख रहेको राईले बताए । संयुक्त लघुकथासंग्रह आजका लघुकथा २०७४ मा पाँच र संयोग २०७९ मा उनका तीन लघुकथा समावेश छन् । रावासावा प्राज्ञिक समाज नेपालका सचिव श्रीराम लघुकथा समाज नेपालका पहिलो शाखा खोटाङको अध्यक्ष पनि हुन् ।
संघको समापन समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डा. डी. आर. उपाध्याय अभिनन्दित भएका छन् । सर्जक गणेश रसिकलाई नेपाल भारत साहित्य महोत्सवमा प्रदान गरिएको सम्मानपत्र पनि प्रदान गरिएको थियो ।
यसैगरी सापस स्वर्ण महोत्सव सम्मानबाट संघका पूर्व अध्यक्षहरु नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठ अभिनन्दित भएका छन् । पूर्व अध्यक्ष नगेन्द्रराज शर्मालाई नगद दस हजारसहित साहित्यिक पत्रकारिता पुरस्कार २०६३ पनि प्रदान गरिएको थियो ।
यसैगरी, सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मानबाट वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठी, सापस स्वर्ण महोत्सव समीक्षा सम्मानबाट वरिष्ठ समीक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाल सम्मानित भएका छन्।
यसैगरी, व्यथित काव्य सम्मानबाट कविहरु उदय निरौला २०७४, श्रवण मुकारुङ २०७५, रमेश श्रेष्ठ २०७६, कृसु क्षेत्री २०७७, मोमिला जोशी २०७८ र गीता कार्की २०७९ सम्मानित भएका छन्।
यसैगरी व्यथित काव्य डायसपोरा सम्मान हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित भएका छन् ।
संघले आफ्नो स्वर्ण महोत्सवको अवसरमा विभिन्न साहित्यिक पत्रकारहरुलाई प्रशंसा पत्र प्रदान गरेको छ । सम्मानबाट किशोर पहाडी, कृष्ण भुषाल, सुमन वैरागी पण्डित, श्री प्रेमिला गौचन (अमेरिका), विश्वराज थापा (अमेरिका), ठाकुर बेलबासे, उमेश पाण्डे, भूपराज खड्का, राजेश खनाल, राजन कार्की, रत्नप्रसाद अनामी, निबन्ध आचार्य, सरस्वती गौतम, नरनाथ लुइँटेल, सागर श्रेष्ठ, रमेश दाहाल, बलराम थापा र रुद्र अधिकारी सम्मानित भएका छन् ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले संघको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष राधेश्याम लेकालीले संघको पचास वर्षे योगदानकाबारे बोल्दै साहित्यिक पत्रकारिताको उन्न्यन विकासका लागि सरकारले छुट्टै निकायको व्यवस्था गर्नुपर्ने र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि विभिन्न दूतावासमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने बताए ।