दिनराज कार्की
खोटाङमा पछिल्लो समय बत्ती आउने–जानेक्रम बढेको छ । समय–समयमा बत्ती आउने–जाने समस्याले स्थानीय उपभोक्ता हैरान भएका छन् । ‘बत्ती आउने–जाने समस्याले कार्यालय तथा घरायासी काममा समेत समस्या हुने गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सन्तोष राईले बिना सूचना झ्याप–झ्याप्प विद्युत् कटौती हुँदा विद्युतीय उपकरणमा समस्या देखिने गरेको बताए । कतिपय समय काम गर्दागर्दै झ्याप्प बत्ती गइदिन्छ, बत्ती आउनेसम्म कुर्नुपर्छ राईले भने ।
अघोषित विद्युत कटौतीले घरेलु ग्राहकभन्दा व्यावसायिक र औद्योगिक ग्राहकलाई झन् मर्का पर्ने गरेको छ । धेरै पानी परेको र हावाहुरी चलेका बेला लाइन जानु स्वभाविक भएपनि सिमसिमे पानी परेलगत्तै लाइन जानुलाई सर्वसधारणले अस्वभाविक मानेका छन् । लाईन आउने–जाने समस्याले विद्युतीय उपकरण बिग्रने गरेको जिल्लावासीको गुनासो छ ।
यता, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख विजयराज रेग्मीले भने मौसम बदलिएर गत हप्तादेखि लगातार वर्षात् हुन र केन्द्रीय लाईनको आपूर्ति माग असन्तुलन हुनाले यस्तो समस्या आएको बताए ।
पछिल्लो समय विद्युत तारहरुमा छोएको रुखका हागा काटछाट गर्ने कार्य भइरहेको र केन्द्रीय लाईन जाँदा पनि ओखलढुंगा र सोलु तिरको विद्युत ल्याएर समस्याको समधान गरिरहेकोे प्रमुख रेग्मीको भनाइछ । खोटाङमा २५ हजार बढी घरधुरी उपभोक्ता छन् ।