काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा विहान ८ बजेटबाट बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सहभागी छन् ।
बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको छ । बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ ।
मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो ।
बैठक आइतबार (हिजो) बस्ने भनिए पनि तयारी नपुगेपछि सोमबार बिहानका लागि सारिएको थियो । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।