खोटाङमा लाखे जात्रा शुरु

खोटाङमा लाखे जात्रा शुरु

रोदिक खबर

४, भाद्र २०८०
  • 11.9K
    SHARES
  • खोटाङमा लाखे जात्रा शुरु

    खोटाङ । खोटाङमा लाखे नाच सुरु भएको छ । हरेक वर्ष निकालिने लाखे नाच यसवर्ष पनि सुरु भएको छ । नेवार समुदायकाहरुले हरेक वर्ष लाखे नाच निकाल्ने गर्दछन् । नेवार समुदायले सोमवार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दिनभर लाखे नाच प्रदर्शन गरेका हुन् ।

    वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्गय गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा टोलटोल घुम्ने गर्दछन ।

    दिक्तेलबजारमा मनाइने लाखे जात्राको मुख्य आकर्षण मुकुण्डोधारी लाखे नाच हुन्छ । ढोल, झ्याम्टाको तालमा जातीय सँस्कृति र परम्पराहरुको नक्कल गर्दै मुकुण्डोधारी लाखे नाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् । लाखे बन्नेले व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बसेका हुन्छन् । लाखेसँगै अघिपछि नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउँछ ।

    लाखे जात्रालाई जिल्लाका नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । लाखे जात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुख आदानप्रदान गर्ने गर्छन् । लाखे जात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ ।

    आफन्तजन, इष्टमित्र, साथीभाइ लगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् । अध्ययन, जागिर तथा विभिन्न पेशा/व्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्यहरु पनि लाखे जात्राको अवसरमा एक ठाउँ भेला हुने गरेका छन् ।

    लाखे जात्राले साँस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैंरनेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गर्दै नेवार समुदायले मनाउने विभिन्न जात्रा र पर्व शुरु हुने भएकाले यसको छुट्टै महत्व रहेको खोटाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सामाजिक व्यक्तित्व राजेन्द्र लयालुले बताए ।

    लाखे पर्व संगै जिल्लामा लाखेजात्रा, गाईजात्रा, हिले जात्रा, रोपाईं जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका बिभिन्न जात्राहरु देखाउने चलन छ । श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण जात्रा गरेपछि कृष्णले राक्षस, भूत–प्रेत आदि मारेकोले लाखे ख्याली, आदि भूत–पिचास, नागको भय हुँदैन भन्ने जनविश्वास छ । विशेष तरिकाले मनाइने लाखे जात्रा कृष्णाष्टमीको भोलिपल्ट नदीमा गएर विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको छ ।

    नेवार समुदायको महान चाड लाखे जात्राले जिल्लामा व्यापार/व्यवसायलाई समेत सघाउ पुग्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए ।

    लाखे जात्रा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार, बुइपा, ऐसेलुखर्क, खोटाङबजार, चिसापानी, अर्खौले, खार्मी, दोर्पाचिउरीडाँडा लगायत नेवार समुदायको घना बस्ती भएको ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ ।

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १७:५७:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको