कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ : एमाले नेता तामाङ

कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ : एमाले नेता तामाङ

रोदिक खबर

९, भाद्र २०८०
  • 6.9K
    SHARES
  • कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ : एमाले नेता तामाङ

     काठमाडौँ । कार्यक्रममा नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको बताएका छन् । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको उनले बताएका हुन् ।

    ‘मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने म प्रस्ताव गर्न चाहन्छु, यद्यपि नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा छैन । दुई राजनीतिक पार्टी मिल्न सक्यौँ भने करिब–करिब दुई तिहाइको स्थिति आउँछ ।

    देशमा धेरै राजनीतिक दल हुनु यही अस्थिरता निम्त्याउनु रहेछ,’– उनले भने । ‘कांग्रेस अहिले ब्युँतिरहेको छैन, कांग्रेस अहिले चिर निन्द्रामा छ । कहिले काहीँ ब्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे को–को भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नु हुन्छ,’– नेता तामाङले भने । कांग्रेस नब्युँझिएकै कारण कोशी प्रदेश सरकार गठनका क्रममा संविधान उल्लङ्घन भएको उनले बताए । उनले अहिले कांग्रेस सुतिरहेको र देशमा के भइरहेको छ भन्ने केही पनि थाहै नपाएको बताए । 

    तामाङले अहिलेको सरकारले सुशासनलाई केवल स्टन्टमात्रै बनाएको दाबी गरे । उनले सरकारले ललिता निवास, सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयलाई निष्कर्षमा पुर्‍याउन नसक्ने बताएका हुन् । अहिलेको सरकारको आयु कांग्रेस ब्युँझिएको दिनसम्ममात्रै बाँकी रहने उनको टिप्पणी छ ।

    कांग्रेस अहिले चिर निन्द्रामा रहेको र कहिले काहीँ ब्युँझिएकोजस्तो गर्‍यो भने पनि भ्रष्टाचार मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमलिएको उनले बताए ।

    राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई घुमेर सम्भावित देखिएका मान्छेहरूलाई अलग्गै बाहिर राखेर अभियोजन दर्ता भएको आरोप लगाए । उनले सम्भावित मानिसहरूलाई अनुसन्धानको दायरामा नल्याई अभियोजन हुनुले उक्त प्रकरण अन्तिम निष्कर्षमा पुग्दैन भन्ने एमालेको निष्कर्ष रहेको बताए ।

    अहिले अदालत, न्यायालय र व्यवस्थापिकामाथि समस्या पैदा भएको भन्ने प्रश्न उठेको उनले बताए । न्यायाधीश नियुक्तिमा भाग बन्डामा गर्दा प्रश्न चिन्ह उठेको उनको दाबी छ । न्यायाधीशहरू नियुक्त भएर कुर्सीमा बसेपछि पनि पार्टीको रङ्ग कायम रहेको उनले बताए । उनले दलको रङ्गको आधारमा नियुक्त भएको न्यायाधीशको निर्णय पनि रङ्गकै आधारमा हुने गरेको बताए ।

    संसद् विकास कोषमाथि अदालतले हस्तक्षेप गर्दा सत्ता गठबन्धनका नेताहरू आक्रोशित भएको बताउँदै उनले न्यायिक निर्णयलाई सबैले स्वीकार गर्न आवश्यक रहेको बताए । संसारमा कहिल्यै पनि भ्रष्टाचार शून्य नहुने बताउँदै नेता तामाङले कर्मचारी र राजनीतिक दलका नेता सबैको सम्पत्ति छानबिन भएमा ७०/८० प्रतिशत भ्रष्टाचार कम हुनसक्ने बताए ।

    नेपालमा अहिले पछिल्लो समय धार्मिक र जातीय द्वन्द्व फैलिने वा फैलाउने खालको गतिविधि सुरु भएको भन्दै उनले दुःख व्यक्त गरे । सबैले सचेततापूर्वक यस्तो स्थिति हुन नदिन मुलुकका सबै धार्मिक सम्प्रदायहरू, सबै जातीय समुदायहरू संयम हुन आवश्यक रहेको उनको भनाई छ । ‘मुलुकको धार्मिक सहिष्णुता र जातीय एकता कायम गर्न सबै संयम भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

    प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १९:१२:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको