खोटाङ । निर्माण व्यवसायी संघ खोटाङको छैटौं जिल्ला अधिवेशन आगामी माघ ५ र ६ गते गरिने भएको छ । संघको जिल्ला समन्वय समिति खोटाङको सभा हलमा आइतवार सम्पन्न १० औं साधारण सभाले माघ ५ र ६ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
छैटौ जिल्ला अधिवेशन ऐतिहासिक, सभ्य, भव्य बनाउन निर्माण व्यवसायी संघ खोटाङका अध्यक्ष रमेश पौडेल (दिनेश) को संयोजकत्वमा नौ सदस्यीय मुल आयोजक अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ । मूल आयोजक अधिवेशन व्यवस्थापन समिति सदस्यहरुमा कृष्णप्रसाद घिमिरे, प्रकाश थापा, दिलचक्र राई, कविकुमार राई, भिषण राई, सुविन राई, युवराज रिजाल र यादवसेन राई छन् ।
कविकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय अधिवेशन प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा भिम राई, विज्ञान राई, शशीकुमार राई, विराज अचार्य छन् । प्रचारप्रसार समितिमा यादवसेन राईको संयोजकत्वमा नरेन्द्र ढकाल र प्रविन आचार्य तथा आर्थिक व्यवस्थापन संयोजकमा भिषण राईको नेतृत्वमा प्रकाश थापा, दिवासन राई र जोसेफ रिजाल छन् ।
साधारण सभाले आगामी अधिवेशनसम्म पौडेल कायम रहेको समितिलाई नै आधिकारीक कार्य समितिको मान्यता दिने, निर्माण व्यवसायी संघमा आवद्ध सम्पूर्ण निर्माण कम्पनीहरुलाई यथासिघ्र सम्बन्धित निकायमा नविकरण गर्न सूचित गर्ने र संघमा नविकरण गर्न एक हजार एक शुल्क निर्धारण गर्ने निर्णय गरेको छ ।
साधारण सभामा संघका अध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरद राई र सह–कोषाध्यक्ष विराज आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई साधारण सभाले अनुमोदन गरेको छ । निर्माण व्यवसायी संघलाई जिल्ला प्रशासन कार्यालयमा असोज मसान्तभित्र नविकरण गरिसक्ने जिम्मेवारी पनि अध्यक्ष पौडेललाई दिएको छ ।