खोटाङमा केही दिन यता भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।
मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो।
जिल्ला अस्पताल दिक्तेलमा दैनिक एक सयभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीका बिरामी आउने गरेको जिल्ला अस्पताल खोटाङका डाक्टर पुस्कल राईले बताए ।
अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये जटिल अवस्थाका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको छ।
डाक्टर राईले वर्षा भइरहेको र भाइरल प्रकोप जताततै फैलिएका कारण पनि यस्ता बिरामीको सङ्ख्यामा वृद्धि भएको बताए। ४० भन्दा बढी बिरामीको दैनिक ल्याब परीक्षण गर्ने गरिएको छ।