बुबाआमाको स्मृतिमा विद्यालयलाई तीन लाख ५० हजार आर्थिक सहयोग

बुबाआमाको स्मृतिमा विद्यालयलाई तीन लाख ५० हजार आर्थिक सहयोग

रोदिक खबर

३०, भाद्र २०८०
  • 12.4K
    SHARES
  • बुबाआमाको स्मृतिमा विद्यालयलाई तीन लाख ५० हजार आर्थिक सहयोग

     खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईसहित परिवारका सदस्यले आफ्नो स्वर्गीय बुबाआमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । निजी श्रोतमा गत वर्षदेखि कक्षा–११ र १२ सञ्चालनमा ल्याइएको खार्मीस्थित कालिका माध्यमिक विद्यालयको शैक्षिकस्तर सुधार तथा निजी शिक्षकका लागि तलबभत्ता व्यवस्थापन गर्न वडाध्यक्ष राईको परिवारले रकम संकलन गरेर स्वर्गीय बुबा किल्लबहादुर राई र आमा अमृतशोभा राईको स्मृतिमा विद्यालयलाई तीन लाख ५० हजार आर्थिक सहयोग गरेको हो ।

    वडाध्यक्ष राईका दाजु भलबहादुर राई लगायत परिवारको सदस्यबाट संकलित रकमको चेक वडाध्यक्ष राईले प्रधानाध्यापक प्रकाश राई र कक्षा–११ र १२ सञ्चालनार्थ गठन गरिएको आर्थिक संकलन समितिका संयोजक कृष्णकिशोर राईलाई हस्तान्तरण गरेका हुन् ।

    वडाध्यक्ष राईसहित परिवारका सदस्यले सहयोग गरेको रकम विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक खरिद, शिक्षकहरुका लागि तलब तथा शैक्षिकस्तर सुधारमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर श्रेष्ठले जानकारी दिए । वि.सं. २००९ सालमा स्थापना भएको त्यस विद्यालयमा कक्षा–११ र १२ सञ्चालनका लागि खार्मीस्थित सम्पूर्ण अभिभावक तथा देश÷विदेशमा रहेका शुभचिन्तकबाट चन्दा संकलन गर्ने काम भइरहेको जनाइएको छ ।

    “कक्षा–१२ सम्म सञ्चालित विद्यालयमा अहिले ३०७ जना विद्यार्थी अध्ययनरत छन् । एसइईको ग्रेड वृद्धिको नतिजा आएपछि कक्षा–११ मा विद्यार्थी थपिने अनुमान गरिएको छ”, त्यस विद्यालयका पूर्वशिक्षक समेत रहेका विव्यास अध्यक्ष श्रेष्ठले भने, “निजी श्रोतबाट कक्षा–११ र १२ सञ्चालित यस विद्यालयमा वडाध्यक्ष राईको परिवारले गरेको आर्थिक सहयोगले विद्यालय सञ्चालनका लागि ठूलो टेवा पुग्नेछ । यो अमूल्य सहयोग बिद्यालयको नीति बमोजिम अभिलेखीकरण समेत गरिनेछ ।”

    विद्यालयका लागि गत वर्ष खार्मीस्थित तुर्खाका स्थानीय बासिन्दा एवम् भारतमा कार्यरत योग गुरु नरेन्द्र श्रेष्ठले एक लाखको पाठ्यपुस्तक उपलब्ध गराएका थिए । विद्यालयका लागि यसअघि साबिक खार्मी गाउँ विकास समितिका पूर्वगाविस अध्यक्ष बलराम राईले एक लाख एक हजार तथा त्यही विद्यालयका पूर्वप्रधानाध्यापकद्धय कृष्णकिशोर राई र उपेन्द्र श्रेष्ठले एक÷एक लाख तथा विव्यास अध्यक्ष क्षेष्ठले एक लाख सहयोग गरेका थिए ।

    विद्यालयमा कार्यरत सबै शिक्षकले एक÷एक महिनाको तलब सहयोग गरेर कक्षा–११ र १२ सञ्चालन गरिएको त्यस विद्यालयमा विवाहित महिलालाई २० प्रतिशत छुट दिने व्यवस्थासमेत गरिएको जनाइएको छ । चन्दा संकलनबाटै सञ्चालन गरिएको विद्यालय भएपनि कक्षा–११ र १२ का विद्यार्थीका लागि पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

    वि.सं. २०७९ बाट कक्षा–११ र १२ को कक्षा शुरु गरिएको विद्यालयमा अर्थशास्त्र, नेपाली, बालविकास र सिकाइ तथा शिक्षा र विकास ऐच्छिक विषय अध्यापन गराउने गरिएको विद्यालयले जनाएको छ । विद्यालय कर्मचारी र सहयोगीसहित १६ जना शिक्षक÷कर्मचारीको भरमा सञ्चालन भइरहेको त्यस विद्यालयमा कक्षा–११ र १२ अध्यापनका लागि एकजनामात्र निजी शिक्षक नियुक्त गरिएको जनाइएको छ ।

     

    नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले शिक्षा नियमावली बनाएरै कार्यान्वयनमा ल्याउने तयारी थालेको शिक्षा समिति संयोजक एवम् नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

    पहिलो चरणमा संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले व्यवस्था गरेबमोजिम सबै सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गर्नेगरी प्रक्रिया थालिएको नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - २१:२५:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको