सामुदायिक विद्यालयको पठनपाठन अनिश्चित कालसम्म बन्द

शिक्षा विधेयकको विरोधमा सहभागी हुन खोटाङका पाँच सय शिक्षक काठमाडौं हिँडे

शिक्षा विधेयकको विरोधमा सहभागी हुन खोटाङका पाँच सय शिक्षक काठमाडौं हिँडे

रोदिक खबर

२, आश्विन २०८०
  • 11.3K
    SHARES
  • शिक्षा विधेयकको विरोधमा सहभागी हुन खोटाङका पाँच सय शिक्षक काठमाडौं हिँडे

    खोटाङ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा सहभागी हुन खोटाङका पाँच सय शिक्षक काठमाडौं हिँडेका छन् । संसदमा दर्ता भएको विधेयकको मस्यौदा सार्वजनिक भएपछि नेपाल शिक्षक महासंघको आव्हानमा जिल्लाका पाँच सय शिक्षक आन्दोलनका लागि काठ्माडौं हिँडेका हुन् ।

    बस, जीप र बाईक प्रयोग गरेर कतिपय शिक्षक काठ्माडौं पुगिसकेका छन् भने कतिपय शिक्षक जानेक्रममा रहेको नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मिनकुमार दाहालले बताए । अध्यक्ष दाहालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५० जना, ऐसेलुखर्क गाउँपालिकाको ४४ जना, बराहपोखरी गाउँपालिकाका २३ जना, जन्तेढुंगा गाउँपालिकाका २२ जना, साकेला गाउँपालिकाका १० जना, केपिलासगढीका ७ जना शिक्षक काठमाडौं पुगिसकेका छन् ।

    रावाबेँसी गाउँपालिकाका ३२ जना धुलिखेलमा बास पुगेका छन् । खोटेहाङ गाउँपालिकाका १५ शिक्षक मुलकोटमा बास बसेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १५ शिक्षक रातारात काठमाडौं जाँदैछन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाबाट सय जना शिक्षक आन्दोलनमा सहभागी हुने अध्यक्ष दाहालले बताए । बुधबार खोटेहाङ गाउँपालिकाबाट ६५ जना र दिप्रुङ चुईचुम्माबाट ६/७ जनाको टोली काठमाडौं जाने महासंघले जनाएको छ ।

    शिक्षक विद्यालय छाडेर आन्दोलनमा हिँडेपछि पठनपाठन प्रभावित भएको छ । अहिले शिक्षकको आन्दोलनका पक्ष र विपक्षमा वहस भइरहेको छ । हिउँदे वा अन्य बिदा कटाएर आन्दोलनको अवधि बराबरको पठनपाठन सञ्चालन गरिने अध्यक्ष दाहालले बताए ।

    महासंघको कार्यक्रम अनुसार बुधबारदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिश्चित कालसम्म बन्द हुनेछ । हाल संसदमा दर्ता भएको विधेयकको मस्यौदा सार्वजनिक भएपछि महासंघले त्यसमा गर्नुपर्ने सुधार बुँदागत रुपमा उल्लेख १८ वटा सुधारका माग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो ।

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - २२:५४:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको