काठमाडौं । नेपालमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । मृतक काठमाडौं भोटाहिटीकी ५८ वर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।
श्वास लिन कठीनाइ भएपछि साउन २८ गते अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा सोमबार बिहान १० बजे मिृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले बताए । उनको कोभिड–१९ को परीक्षण गर्दा साउन ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । मृतक महिला पहिलेदेखि मधुमेहबाट ग्रसित रहेको बताइएको छ ।
यस्तै धनुषामा पनि थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।