कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन : मन्त्री मेन्याङ्बो

कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन : मन्त्री मेन्याङ्बो

रोदिक खबर

४, आश्विन २०८०
  • 10.0K
    SHARES
  • कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन : मन्त्री मेन्याङ्बो

     खोटाङ । कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेशमा सहमतीय सरकार आवश्यक रहेको बताएका छन् ।

    प्रेस चौतारी नेपाल खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गदै मन्त्री मेन्याङ्बोले कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत नभएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सबै दलको सहमतीय सरकार निर्माणको आवश्यक रहेको बताएका हुन ।

    “जनताले सबै दल मिलेर सरकार बनाउ भन्ने सन्देशसहित जनमत दिएका छन् । कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन”, प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री मेन्याङ्बोले भने, “प्रदेश सरकार अस्थिर हुँदा जनतामा सङ्घीयताप्रति नै बितृष्णा सिर्जना भएको छ ।

    अहिलेकै अवस्थामा मध्यावधि निर्वाचनमा जाने स्थिति पनि छैन । मतदाताले पनि स्वीकार गर्दैनन् । यदि निर्वचनमा गएको खण्डमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) तयार छ । तर, निर्वाचनमा जाँदा राज्यको ठूलो खर्च हुन्छ । त्यसैले राज्यको खर्च जोगाउन सबै दल मिलेर प्रदेश सरकारलाई स्थायित्व दिन हाम्रो पार्टीको तर्फबाट पहल थालिएको हो ।”

    नेकपा एमालेका पोलिट ब्यूरो सदस्यसमेत रहेका मन्त्री मेन्याङ्बोले प्रदेश नामाकरणका विषयमा असतुष्ट पहिचान पक्षधरलाई वार्तामा आउन आव्हान गरेका छन्। “पहिलो प्रदेशसभाले प्रदेशको नाम राख्नुपथ्र्यो । त्यो सकेन । दोस्रो प्रदेशसभाले जसरी पनि नामाकरण गर्नैपर्ने थियो । हामीले सबै दलको समर्थनमा नामाकरण गरेका हौँ”, पहिचान पक्षधरसँग वार्ता गर्नका लागि प्रदेश सरकारको तर्फबाट गठित वार्ता समितिका संयोजकसमेत रहेका मन्त्री मेन्याङ्बोले भने, “बिमति राख्ने छुट सबैमा छ ।

    यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । पहिचान पक्षधरलाई म आन्दोलन नगर्न आग्रह गर्दछु । बल प्रयोग हुँदा कसैले साथ दिँदैन । बिमति भएका विषयमा वार्ता गरौँ । त्यो नै सबैको लागि उत्तम विकल्प हो ।” मन्त्री मेन्याङ्बोले प्रदेश सरकारबाट सञ्चालित योजनाका बारेमा प्रचारप्रसार कम भएको भन्दै यसतर्फ ध्यान दिन पत्रकारहरुलाई आग्रह गरे ।

    “प्रदेश सरकारबाट सञ्चालित धेरै योजनाका बारेमा जनतालाई जानकारी छैन । स्वास्थ्य, वन तथा वातारण, खानेपानी, सिञ्चाइँ, उर्जा लगायतका क्षेत्रमा प्रदेश सरकारको ठूलो लगानी छ”, उनले भने, “सङ्घीयतालाई स्थायित्व दिन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुन्छ । प्रदेश सरकारले गरेका हरेक क्रियाकलापका बारेमा खबरदारीपूर्ण तवरले कलम चलाउन सबै पत्रकारहरुलाई म आग्रह गर्दछु । यसले हामीलाई मार्ग दर्शनको काम गर्छ ।”

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १९:००:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको