आइतवार, कार्तिक १६ गते २०८३

सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न/नगराउन आग्रह

सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न/नगराउन आग्रह

रोदिक खबर

१०, आश्विन २०८०
  • 15.0K
    SHARES
  • सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न/नगराउन आग्रह

    खोटाङ । खोटाङका राजनीतिक दलले सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने खालका ‘स्टाटस’ नलेख्न/नलेखाउनका लागि सकरात्मक भूमीका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयले बिहिबार बोलाएको सर्वदलीय बैठकमा जिल्लास्थित राजनैतिक दलका नेताहरुले सामाजिक सद्भाव भड्काउने, आपसमा द्धन्द्ध र झगडा निम्त्याउने खालका स्टाटस नलेख्न/नलेखाउनका लागि सकरात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राई, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे, जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बू, नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका जिल्ला सदस्य गंगा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य दधि श्रेष्ठ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष फुर्वा शेर्पा लगायतले सामाजिक सद्भाव भड्काउने खालका गतिविधि नगर्न नगराउनका लागि भूमिका निभाउन पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । बैठकमा सहभागी दलका नेताहरुले जथाभावी नलेख्नका लागि आफ्नो मातहतका कार्यकर्तालाई सर्कुलर गराउनेछन् ।

    पछिल्लो समय राजनीतिक वा अन्य विषयमा फेसबुकमार्फत एक अर्का बिरुद्ध गालीगलौज गर्ने, बदनाम गर्ने, धम्की दिने लगायतका गतिविधि हुन थालेपछि प्रशासनको समन्वयमा सर्वदलीय बैठक आव्हान गरिएको हो । सामाजिक सञ्जालमा तथानाम लेख्ने क्रम बढेकाले नियन्त्रणका लागि सर्वदलीय बैठक राख्नु परेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

    गत असोज ४ गते दिक्तेल आइपुगेका कोशी प्रदेशका खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोलाई कालोझण्डा देखाउने क्रममा पहिचानपक्षधर समुहमाथि बल प्रयोग भएको भन्दै हाल प्रहरी नायव उपरिक्षक  पुरुषोत्तम खड्का र प्रजिअ सुनार बिरुद्ध सामाजिक सञ्जालमा गालीगलौज भइरहेको छ ।

    प्रनाउ खड्का बिरुद्ध जथाभावी लेखेको अभियोगमा एक युवा असोज ८ गते पक्राउ परेर रिहा भइसकेका छन् । अहिले पहिचानको पक्ष र विपक्षमा एक अर्का विरुद्ध गालीगलौज भइरहेका छन् । यस्तै, असोज ८ गते मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीको नेतृत्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको मसानेडाँडामा गोरु काटेर सामुहिक भोज खाए÷खुवाएको भिडियो सामाजिक सञ्जालमा राखिएपछि पनि पक्ष र विपक्षमा स्टाटसहरु आइरहेका छन् । 

    मन्त्रीलाई कालो झण्डा देखाएको र गोरु काटेको घटनापछि कतिपय स्टाटसहरु सामाजिक सद्भाव भड्काउने खालका लेखिएका कारण प्रशासनले सर्वदलीय बैठक बोलाएको हो । सामाजिक सञ्जालमा एक अर्का बिरुद्ध धम्की र अश्लिल शव्द समेत प्रयोग गर्ने गरिएको देखिएको छ ।

    बैठकमा आगामी असोज १७ गतेदेखि असोज २१ गतेसम्म हुने अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई सफल वनाउन सहयोग गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती र लापरवाही बारे सूचना आदान प्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने पत्रकार तथा संचार माध्यमले सकारात्मक सन्देश जाने खालका सूचना तथा सामाग्रीहरु प्रकाशन र प्रशारण गर्ने निर्णय भएको छ ।

    जिल्ला प्रशासन कार्यालय खोटाङमा बसेको सर्वपक्षीय बैठकमा सहभागीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सामाजिक सद्भाव भड्काउने, व्यक्तिगत रिसिइबीको भरमा एकले अर्काको व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पु¥याउने लगायतका गतिविधि बढेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

    बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो । जिल्लामा क्रियाशील पत्रकार र सञ्चारमाध्यमहरुबाट सबैमा सकारात्मक सन्देश जाने खालका सूचना तथा सामाग्रीहरु प्रकाशन गराउने पनि निर्णय गरेको छ ।

    यसैबीच, असोज–१७ गतेदेखि २१ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’लाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले जिल्लाका धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन तथा विकास गर्ने उद्धेश्यले पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम आयोजना गरेको हो ।

    नगरपालिकाको विभिन्न ठाउँमा आयोजना हुने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा नेपाल, अस्ट्रेलिया, अमेरिका, जापान, लातभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारहरुको सहभागिता हुने नगरप्रमुख भट्टराईले बताए।

    “कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० जनाभन्दा बढी कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् । जिल्लाका सबै स्थानीय तहको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ”, उनले भने, “प्रत्यक्ष चित्रकला, सँस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो ।

    लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दाबी गरिएको छ ।”

    नगरपालिकाले विनियोजन गरेको रु १८ लाख खर्चमा हुने लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब १०० को हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ ।

    चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज–२० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - २२:१३:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको