खोटाङ । चलचित्र ‘बालापन’ यही असोज–२८ र २९ गते दिक्तेलमा विशेष प्रिमियर सो हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा जन्मिएका समाजसेवी हट मिलन राईले निर्माण गरेको चलचित्र ‘बालापन’ अनाथ तथा असाहाय्य बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकको सहयोगार्थ प्रिमियर सो गर्ने तयारी गरिएको हो ।
जिल्लाका अनाथ तथा असाहाय्य बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकको सहयोगार्थ दिक्तेलमा विशेष प्रिमियर सो गर्ने तयारी गरिएको निर्माता राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । “यो मेरो पहिलो चलचित्र हो । पहिलो प्रस्तुतिमै दर्शकको मन जित्न सफल भएको छु भन्ने महसुस भएको छ ।
सामाजिक, पारिवारिक र मायाँ पिरतीका कुरा समेटेर निर्माण गरिएको चलचित्र ‘बालापन’मा निर्माता राईको मुख्य भूमिका रहेको जनाइएको छ । एक घण्टा ५७ मिनेट लामो चलचित्र ‘बालापन’मा नायक धिरेन शाक्य, नायिका प्रियाङ्का कार्की र सोनी बिसी तथा वरिष्ठ कलाकार सुनिल थापाको अभिनय रहेको निर्माता राईले जानकारी दिए।
चलचित्र निर्देशक शिवा आर्जेले निर्देशन गरेको चलचित्र ‘बालापन’मा राष्ट्रियस्तरका कलाकारहरु सविन श्रेष्ठ, राजकुमार थापा, तिलबहादुर कार्की तथा स्थानीय कलाकारहरु (खोटाङका) प्रकाश राई, पवन चाम्लिङ, जुद्ध राई, सुरेन्द्र चाम्लिङ, आङछिरी शेर्पा, डेनी शेर्पा र निलमु शेर्पाले अभिनय गरेका छनु । काठमाडौँ र दुवाईमा छायाङ्कन गरिएको चलचित्र ‘बालापन’ एक करोड ५० लाख लगानीमा निर्माण सम्पन्न भएको निर्माता राईले बताए ।