खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा बजार अनुगमनमा गएको टोलीलाई व्यवसायीले गोदाम अनुगमन गर्न अवरोध गरेका छन् ।
दशैंतिहार नजिकिदै गर्दा शनिबार बजार अनुगमनका लागि इलाका प्रशासन कार्यालय खोटाङबजारबाट पुगेको अनुगमन टोलीलाई व्यवसायीले गोदाम हेर्न अवरोध गरेका हुन् ।
पहिलो व्यवसायीको गोदाम अनुगमन गरेपछि दोश्रो व्यवसायीको गोदाम अनुगमन गर्नेक्रममा अवरोध गरिएको इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मोहनबहादुर राईले बताए ।
अनुगमन टोलीले चिसापानी बजारका सबै खुद्रा पसल अनुगमन सकेपछि पुःन गोदाम अनुगमन गर्न खोज्दा व्यवसायीले अवरोध गरेका हुन् ।
सुरुमा गोदाम नहेरी पसलमा बाहिर राखिएका सामान मात्र अनुगमन गरेको टोलीलाई साना खुद्रा व्यवसायीले गोदाम अनुगमन गर्न आग्रह गरेपछि अनुगमन टोलीले गोदाम हेर्न थालेका थिए ।
स्थानीय गोदामबाट खरिद गरेर पसलमा राखेको उपभोग्य वस्तुको म्याद नाघेको पाइएपछि र अनुगमन टोलीले जफत गरेपछि साना खुद्रा व्यवसायीले गोदाम अनुगमन गर्न आग्रह गरेको प्रमुख राईले बताए ।
“एकसरो बजार अनुगमन सकियो । अनुगमन गर्दा भारी मात्रामा म्याद नाघेको खाद्यवस्तु भेटियो । साना व्यवसायीले तिनै गोदामबाट सामान लगेर बिक्री गर्ने गरेका रहेछन्,” राईले भने, “गोदामबाट ल्याएर पसलमा राखेको सामान म्याद नाघेको पाइएपछि गोदाम नै अनुगमन गर्नुपर्छ भन्ने माग उठ्यो । पहिलो गोदाम सकेर दोश्रो गोदाम हेर्न खोज्दा लफडा भयो ।” बाँकी गोदाम केही समयपछि पुःन अनुगमन गर्ने तयारी गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीले चिसापानी बजारबाट म्याद नाघेका एक ट्याक्टर सामान बरामद गरेको छ । बजार अनुगमनका क्रममा एक लाख ६९ हजार ३२० रुपैयाँको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।
अनुगमन टोलीले म्याद नाघेको २५ हजारको सानो डिउ, १६ हजार दुई सयको मेहेन्दी, १० हजार आठ सयको बडी स्प्रे, १० हजार आठ सयको लिपिस्टिक, नौ हजार ४५० को भ्यास्लिन, आठ हजार चार सयको इनामेल, आठ हजार आठ सयको जिवनज्योती, छ हजारको स्याम्पो, पाँच हजार छ सयको फ्यान्टा, चार हजार एक सयको तेल जफत गरेर नष्ट गरेको छ ।
यस्तै, तीन हजार ४९५ को फेयर एण्ड लभ्ली, तीन हजार आठ सयको कुरमुरे, दुई हजारको डिउ, एक हजार एक सयको स्ट्रीङ्ग जुस, आठ सयको केराटीन स्मुत, ३६० रुपैयाँको सोनाटा क्रिम, दुई हजार ९७० को पोन्डम क्रिम, दुई हजार ३४० रुपैयाँको पोन्डस पाउडर, दुई हजार ५५० को फेयर एण्ड हेन्डसम, आठ सयको नाइट क्रिम, आठ सयको बेबी पाउडर, एक हजार ओले क्रिम, एक हजार ७०० को पपय साबुन, एक हजार १२० को बाइट पाउडर, दुई हजार ३४० को वाइट क्रिम, ८४० रुपैयाँको पानी, ४६० रुपैयाँको सुपर ग्लु, १५० रुपैयाँको मोटर, २४० रुपैयाँको गम, तीन हजार ३२० को मन्जन बरामद गरेर नष्ट गरिएको छ ।
अनुगमन टोलीका अनुसार नौ सयको सेनीटाइजर, दुई हजार ७२० को कलर, तीन हजारको हेयर रिमोबर, एक हजार ५० को गुट्का, तीन सयको मःमः मसला, एक हजार ५५० को ज्वानो, ५० को बेसार, दुई सयको ग्लुकोज, चार हजार १८० को बियर गोर्खा स्ट्रङ, दुई हजार २८० को कोक, ४५० को धुलो खुर्सानी, दुई हजार एक सयको सानो स्याम्पो, ७६० को आटा पिठो, ८४० को औषधि, एक हजार तीन सयको अजिना, ४० को सुजी, दुई हजार चार सयको नरिवल लड्डु, दुई हजार चार सयको हजमोला, सात सयको जिरा, तीन हजार सात सयको सानो डिउ, ८४० को पोटेटो क्र्याकर र २२५ रुपैयाँको चकलेट नष्ट गरिएको छ ।