मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
काठमाडौं–कुलेखानी हेटौँडा सडकखण्डमा भएको दुर्घटनामा काठमाडौं महानगरपालिका–२७ बस्ने ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट हेटौँडा जाँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटनामा परेको हो ।
जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।