शुक्रवार, भाद्र २६ गते २०८३

कृषि खेती

तरकारी खेतीमा आत्मनिर्भर बन्दै सुनिल

तरकारी खेतीमा आत्मनिर्भर बन्दै सुनिल

रोदिक खबर

१५, कार्तिक २०८०
  • 7.6K
    SHARES
  • तरकारी खेतीमा आत्मनिर्भर बन्दै सुनिल

     तारानाथ फुँयाल । 

    २७ वर्षीय सुनील राईको अवस्था खोटाङका धेरै युवाहरूको कथाभन्दा फरक थिएन । राई सहित छ जना परिवारको जीवननिर्वाह परम्परागत कृषिमा आधारित थियो । खेतको उब्जनीले पाँच महिना मात्र खान पुग्थ्यो । बाँकी महिना किनेर खानु पर्दथ्यो । सुनील जेठो छोरा भएकाले उनीमाथि धेरै जिम्मेवारी थियो ।

    खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं.१४ का सुनील पनि जीविकोपार्जन र भाइबहिनीको शिक्षादीक्षाका लागि विदेश गएर पैसा कमाउने सपना पूरा गर्न २०७५ सालमा कुबेत हानिए ।कुबेतमा स्काफोल्डिङमा काम गरे पनि सोचेजस्तो पैसा कमाइ भएन । कम्पनीले राम्रो तलब नदिएकाले कम्पनीभन्दा बाहिर रहेर साढे दुई वर्ष काम गरेपछि रित्तो हात नेपाल फर्किए ।

    त्यसपछि के गर्ने भन्ने सोँचाइमा केही समय बित्यो तर कुनै पनि ठोस योजना नबनेका कारण फेरी उनी विदेशकै चक्करमा लागे तर सोँचेजस्तो नभएपछि विदेश जाने सपना पनि त्यागे । उनी वि.सं. २०७७ मा गाँउमा गठन भएको उर्बरा कृषक समूहमा आबद्ध भई समूहको सदस्य भएर कृषि व्यवसायतर्फ लागे । सुरुमा आफ्नै लगानीबाट डेढ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारीहरू काउली, बन्दा, आलु, सिमी, मुला, अकबरे खोर्सानीलगायतका बालीहरू लगाए । बजार मूल्य उचित पाएकाले उनमा थप हौसला बढ्यो ।

    यसै क्रममा उर्वरा कृषक समूहमा समृद्धि आयोजनाअन्र्तगत तरकारी आपूर्ति शृङ्खला कार्यक्रम सुरु भयो । यसलाई महत्त्वपूर्ण अवसर ठानेका उनले आयोजनाको आर्थिक सहयोगबाट टनेल, कृषि औजार, हजारी, मल्चिङ, स्प्रिङकल, एग्रोनेट, नर्सरी ट्रे गार्डेन, पाइप, बिउजस्ता सहयोग प्राप्त गरे ।

    साथै विषादी, भिटामिन, प्राविधिक ज्ञान, मल बनाउने, नर्सरी बेर्ना, रोगका पहिचान तथा उपचारसम्बन्धी तालिम पनि पाए । हाल सुनीलले आयोजनाको निश्चित हिस्सा साझेदारीमा पाँचवटा टनेल घर निर्माण गरी गोलभेँडा, काक्रा लगाएका छन् । चार रोपनीमा अन्य विभिन्न तरकारी खेती गर्दै आएका छन् ।

    उनले यस वर्ष मात्र तरकारी बेचेर वार्षिक  एक लाख  ८० हजार कमाएका छन् । आयोजनामा संलग्न भएकाले व्यावसायिक तरकारी खेती सम्भव भएको छ । भविष्यमा सुनील र उनको परिवार व्यावसायिक तरकारी कृषक हुने योजनामा छन् । अझ यस व्यवसायलाई बिस्तार गर्नुका साथै बङ्गुर र कुखुरा पालन पनि सँगै गर्ने योजनामा छन् । जसरी जीवन अगाडि बढिरहेको छ त्यसमा उनी खुसी देखिन्छन् ।

    प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - ०७:१९:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको