कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइदै

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइदै

रोदिक खबर

१७, कार्तिक २०८०
  • 2.2K
    SHARES
  • कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइदै

     खोटाङ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

    तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

    महाशाखा प्रमुख डा. विवेक कर्ण लालका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ  ।यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

    आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिने डा. लालले जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - ०८:५५:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको