आशिष रायमाझीको तिहार कोसेली ‘झिलीमिली’ सार्वजनिक

आशिष रायमाझीको तिहार कोसेली ‘झिलीमिली’ सार्वजनिक

रोदिक खबर

१९, कार्तिक २०८०
  • 8.1K
    SHARES
  • आशिष रायमाझीको तिहार कोसेली ‘झिलीमिली’ सार्वजनिक

    काठमाडौं – तिहार सुरु हुदै गर्दा बजारमा तिहारका गीतहरु गुञ्जिन थालेका छन्। तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी तिहारलाई खास बनाएको छ, उसैगरी देउसी-भैलो भाकाले पनि ।

    जब देउसी-भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ । यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर कलाकारहरुले थुप्रै गीतहरु सार्वजनिक गर्ने गरेका छन्।

    यही क्रममा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको 'झिलीमिली' बोलको म्युजिक भिडियो सार्वजनिक छ। यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ।

    सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले 'सपनीमा', 'मोहनी', लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।

    'द भ्वाइस अफ नेपाल' का यसअघिका सिजनमा पवित्रा र नितुले समेत सहभागिता जनाएका थिए। 'झिलीमिली' बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल 'आशिष रायमाझी' मार्फत सार्वजनिक गरिएको हो।

    प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - १३:३४:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको