खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवद्र्धन गर्न साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सह–आयोजनमा यही मङ्सिर–६ गते बृहत साँस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आ–आफ्नो मौलिकता, सँस्कृति र पहिचान झल्काउने साँस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको साँगीतिक प्रस्तुति रहने गाउँपालिकाका प्रमुख शालिकराम बन्जाराले बताए । “धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधनी एकादशीको अवसरमा दुई दिन बृहत मेला लाग्ने गरेको छ ।
यसलाई प्रवद्र्धन गर्न साँस्कृतिक महोत्सव आयोजना गरिएको छ”, उनले, “बराहपोखरीमा आयोजना गरिएको साँस्कृतिक महोत्सवले गाउँपालिकाको आर्थिक उन्नतिमा समेत सघाउ पुग्ने अपेक्षा गरेका छौँ । आगामी दिनमा समेत यसलाई दिने योजना बनाइएको छ ।” महोत्सवमा चर्चित गायक सम्भु राई, हास्य कलाकार सुवोध गौतम, गायक कमल खत्री लगायतका दुई दर्जन बढी कलाकारहरु सहभागी हुने सह–आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवम् गायक रुपकुमार राईले जानकारी दिए । मङ्सिर–६ गते बिहान १० बजेबाट शुरु हुने साँस्कृतिक महोत्सवमा भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’का विजेताहरुको समेत साँगीतिक प्रस्तुति रहने जनाइएको छ । परापूर्वकालदेखि लाग्दै आएको मेलाका साथै साँस्कृतिक महोत्सवलाई लक्षित गर्दै गाउँपालिकाले पालिकाभर दुई दिन सार्वजनिक बिदाको औपचारिक घोषणासमेत गरेको छ । संसारकै लोपोन्मुख रातो माछा पाइने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई नेपाल सरकारले सयवटा गन्तव्यस्थलको सूचीमा समावेश गरेको छ । हरिबोधनी एकादशीको अवसरमा विशेषगरी धामीझाँक्रीको मेला लाग्ने बराहपोखरीमा बालन र सँगिनीसमेत नाच्ने चलन छ । बराहपोखरीमा रहेको मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र पोखरीको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ४.४६ हेक्टर क्षेत्रफलमा फैलिएको ‘अर्धचन्द्राकार’को पोखरीमा पाइने दुर्लभ रातो माछाले पर्यटकको मन लोभ्याउने गरेको छ । बराहताल चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ । परापूर्वकालमा एउटा घरको अगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किम्बदन्ती छ । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमिनमा अवस्थित बराहपोखरीको आयतन बाह्रै महिना एउटै देखिन्छ । बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शंखेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहीआएको छ । जीवनमा शान्ति मिलोस् भनी जोडी परेवा उडाउनुका साथै सुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ । बाह्रै महिना हरियो देखिने यस बराहपोखरीको पानीले नुहाएमा मोक्ष पाउने जनविश्वास रहेको छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजाआजा गरेमा सन्तान प्राप्ति हुने विश्वास छ । “महोत्सव सफल पार्न गाउँपालिकाको तर्फबाट विभिन्न उपसमितिहरु गठन गरेर परिचालन गरिएको छ । गाउँपालिकाद्धारा परिचालित उपसमितिहरुले तयारीलाई तीव्रता दिएका छन्”, उनले भने, “धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पहिलो पटक आयोजना गरिएको साँस्कृतिक महोत्सवले छुट्टै माहोल सिर्जना भएको छ । यसले बराहपोखरीको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।” प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बृद्धि हुँदै गएको छ । अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्नेको आन्तरिक तथा बाह्य पर्यटकको संख्या ३०० को हाराहारीमा रहेको स्थानीय बासिन्दाले बताउने गरेका छन् । बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीनवटा डुङ्गा सञ्चालन गरिएको छ । डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ । बराहपोखरीमा हरेक वर्षको रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, माघे सङ्क्रान्तिका दिन लाग्ने मेलामा सतबीज छर्ने चलन छ । धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने मेला भर्न र दर्शन गर्न उदयपुर, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, मोरङ, झापा, सप्तरी लगायतका जिल्लाबाट दर्शनार्थीसमेत आउने गरेका छन् ।