एम्बूलेन्समा हालेर ट्रमा सेन्टर पठाउने क्रममा जयकृष्ण राईको अवस्था बारे बुझ्दै नगरप्रमुख तीर्थराज भट्टराई ।
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लडेर बायाँ खुट्टाको गेडी भाँचिएका घाइतेलाई उपचारका लागि अस्पताल लगेको छ । गत कात्तिक ७ गते डाले घाँस झार्ने क्रममा रुखबाट लडेर खुट्टाको गेडी भाँचिएर थला परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका ५६ वर्षीय जयकृष्ण राईलाई नगरपालिकाको एम्बूलेन्समा हालेर ट्रमा सेन्टर काठमाडौं लगिएको हो ।
उपचार गर्ने आर्थिक अवस्था नभएका कारण घरैमा थलिने अवस्थामा पुगेको जानकारी पाएपछि नगरपालिकाकोतर्फबाट खर्च बेहोर्नेगरी घाइतेलाई काठमाडौं लगिएको मेयर तीर्थराज भट्टराईले बताए । गेडी भाँचिएका कारण इन्फेक्सन भएर तिघ्रा पाकिरहेको अवस्थामा घाइतेलाई मंसिर ३ गते ट्रमा सेन्टर पुर्याइएको भतिजो किसन राई बताउँछन् ।
खुट्टाको गेडी टुक्रिएका कारण संक्रमण भएर तिघ्राको मासु कुहिएर गन्हाउन थालेपछि राईलाई कात्तिक १३ गते जिल्ला अस्पतालमा लगिएको थियो । तर जिल्ला अस्पतालले तत्काल अन्यत्र लैजान भनेपछि उनलाई सोही दिन दिक्तेलको फेमिली केयर अस्पतालमा पुर्याइएको थियो । फेमिली केयरमा एक्सरे गरेपछि राईको गेडी भाँचिएको पूष्टि भएको थियो । फेमिली केयरका सञ्चालक डा. कृष्णकुमार राईका अनुसार घाइतेको हिपज्वइन्टमा फ्याक्चर्ड नेक अफ फेमर भएको छ ।
उपचार गर्नेक्रममा गेडी फेर्नुपर्ने अवस्था देखिएपछि र घाउ थप कुहिँदै गएपछि उनलाई फेमिलीकेयरले मंसिर २ गते अन्यत्र रेफर गरेको थियो । तर उपचार गर्ने पैसा नभएका कारण सुविधा सम्पन्न अस्पताल लैजानुको सट्टा घर फर्काउने तयारी भइरहेका बेला घाइतेलाई नगरपालिकाले उपचार खर्च बेहार्नेगरी ट्रमा सेन्टर पुर्याइएको हो ।
लिचीको बोटमा अल्झिएको पट्मेरोको घाँस झार्न चढेको बेला राई लडेका थिए । रुखबाट लडेपछि खुट्टा मर्किएको भन्ठानेर रक्सी सेवन गर्दै हिँडडुल गरेकाले भाँचिएको गेडीमा इन्फेक्सन भएर मासु कुहिन थालेको हो । अहिले उनको तिघ्राको मासु पाकेर पिप बगिरहेको छ । तिघ्रा पाकेपछि उनी उठेर बस्न समेत नसक्ने अवस्थामा पुगेको भतिजा राईले बताए ।
फेमिली केयरले गेडी फेर्न काठ्माडौं लैजानु, पाँच लाख जति लाग्छ भन्यो । बिहान बेलुकाको छाक टार्नै धौधौ भएको मान्छेले त्यत्रो रकम कहाँबाट ल्याउनु, किसनले भने, अस्पताल होइन, घर फर्काउनुपर्छ भनेर तयारी भैरहेकोबेला नगरप्रमुख तीर्थराज भट्टराईले थाहा पाउनु भएछ । उहाँले नगरकोतर्फबाट उपचारको व्यवस्था गरिदिन्छौँ, अस्पताल लैजानु भनेपछि घाइतेलाई ट्रमा सेन्टरमा पुर्याएका छौँ ।